मिश्रलाई स्वागत गर्न बिदामा बसेका  जोशी पुगे फूलमाला लिएर

५ बर्ष अगाडि

काठमाडौँ– नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । 
शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन्  ।

पदबहालीका क्रममा नवनियुक्त प्रधानन्यायाधीश मिश्रले आफूले कम समयमा न्यायालयमाथि जनविश्वास बढाउने, सूचनामैत्री न्यायालय बनाउने, सम्पत्ति विवरण नबुझाउने न्यायाधीशलाई कारवाहीको दायरामा ल्याउनेलगायतका प्रतिबद्धता व्यक्त गरे । 
 सर्वोच्च अदालत परिसरमा सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार जोशीले उनलाई फूलमाला लगाएर प्रधानन्यायाधीशका रुपमा स्वागत गरेका थिए । 

संसदीय सुनुवाइ समितिले जोशीको नाम अनुमोदन गर्न अस्वीकृत भएपछि संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा मिश्रको नाम सिफारिश गरेको थियो ।
 समितिले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि जोशी बिदामा बसेका थिए । 
 तर आज नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई स्वागत गर्न जोशी अदालतमा पुगेका हुन् ।  

संवैधानिक परिषद्को सिफारिशमा मिश्रको नाम आजै संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको थियो । संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ । 

नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा नाम सिफारिश गरेको थियो । 

रुपन्देही जिल्ला रायपुरमा २०१० पुस २८ गते बाबु महेशदत्त र अन्नपूर्ण मिश्रको सन्तानका रुपमा जन्मिएका  ओमप्रकाश मिश्रले २०३८ जेठ ३० गते तत्कालीन कानून तथा न्याय मन्त्रालयबाट शाखा अधिकृतबाट सेवा शुरु गरेका हुन् । 
 गत साउन २० गतेदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा काम शुरु गर्नुभएका मिश्रले आजदेखि २८औँ प्रधानन्यायाधीशका रुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त गरेका छन् । 

प्रधानन्यायाधीशका रुपमा मिश्रले पाँच महीना काम गर्नेछन् 
 । 
आगामी पुस १८ गते सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण उनले अवकाश लिनेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया