काठमाडौँ - काठमाडौँको बत्तीसपुतलीमा शम्भु धिमाल हत्या भएको छ । हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा सङ्लन चारै जना नाबालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपीले बताए । प्रहरीले उनीहरूको पहिचान सार्वजनिक गरेको छैन ।
चार जना नाबालकले मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या गरेका हुन् । मोरङ घर भएर गौशाला बस्ने २३ वर्षीय मनिष चौधरी र शम्भु धिमाल शनिवार साँझ करिब ८ बजेतिर काठमाडौँ–९ स्थित कुमारी टोलमा हिँड्दै थिए । विपरीत दिशाबाट आएका ४ जना युवकसँग सडकमा उनी ठोक्किएका थिए । चार जनामध्ये एउटाले सोधे, ‘किन ठेलेको, निहुँ खोजेको हो ?’
सो क्रममा भएको विवादमा अचानक समूहबाट एक जना नाबालकले धिमाललाई चक्कु प्रहार गरे । धिमालको पेट, छाती र ढाडमा चोट लागेको छ । सँगै गएका मनिष चौधरी पनि सामान्य घाइते छन् । प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवे नेतृत्वको टिमले घटनास्थलबाट भाग्दै गरेको अवस्थामै ३ जना र पछि अर्का नाबालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया