तीन सचिवसहित ४ हजारले रोजे अवकाश

६ बर्ष अगाडि

काठमाडौ-  विशिष्ट श्रेणीका तीन सचिवसहित निजामती सेवाका करिब ४ हजार कर्मचारीले स्वैच्छिक अवकाश लिन आवेदन दिएका छन् । अवकाश रोज्नेमा तल्लो तह र श्रेणीविहीन कर्मचारी बढी छन् । 

सामान्य प्रशासन मन्त्रालयको स्वैच्छिक अवकाश इकाईका अनुसार निजामती प्रशासनबाट प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने अवकाशयोग्य कर्मचारीबाट आवेदन लिइएको हो । मन्त्रालयले स्वैच्छिक अवकाशमा जान चाहने ५० वर्ष उमेरहद र २० वर्ष सेवा अवधि कटेका कर्मचारीलाई ४५ दिनभित्र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आवेदन दिन सूचित गरेको थियो । उक्त म्याद आइतबार सकिएको छ ।

भूमिसुधार मन्त्रालयका सचिव शम्भु कोइराला, संसद् सचिवालयका सचिवद्वय हिमलाल सुवेदी र वीरेन्द्र कार्कीले स्वैच्छिक अवकाश रोजेका छन् । १३ सहसचिव र ४० उपसचिवले पनि समायोजन अस्वीकार गरी अवकाश लिन आवेदन दिएका छन् । अवकाश रोज्नेलाई ७ वर्षको पेन्सन सुविधा एकमुष्ट दिइनेछ ।

विभिन्न मन्त्रालय, विभागहरू र उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरबाट ७ सय कर्मचारीले मात्र अवकाशका लागि निवेदन दर्ता गराएको जानकारी इकाईका उपसचिव धर्मराज रोकायले दिए, कान्तिपुरमा खबर छ  । 

उपत्यकाबाहिरका जिल्लाबाट करिब ३ हजार कर्मचारीले अवकाश रोजेका छन् । देशभरका जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका आवेदन आगामी फागुन १९ सम्म इकाईमा आइपुग्ने उनले बताए ।

६ बर्ष अगाडि

प्रतिक्रिया