काठमाडौंमा फेरी १४ दिन अत्यावस्यक बाहेकका सेवा बन्द, कार्यालयको विषयमा प्रमुखले निर्णय लिने

३ बर्ष अगाडि

काठमाडौं उपत्यकामा पर्सी (आइतबार) देखि फेरी अत्यावस्यक बाहेकका सेवा बन्द गरिएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेका हुन् । 

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को दिउँसो बसेको बैठकले सुरक्षा र अत्यावस्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने नीति लिएका हुन्  ।

बैठकले शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी, मुद्धा, अत्यावस्यक कामको लागि सवारी पास र विपद् व्यवस्थापन सम्बन्धी कार्य मात्र सञ्चालन गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। 

अहिलेका लागि नयाँ नेपाली नागरिकता, प्रतिलिपि, हातहतियार दर्ता, संस्था दर्ता तथा पत्रपत्रिका दर्ता नविकरण, निजी सुरक्षा कम्पनी नविकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र तथा अन्य अत्यावस्यक नभएका सेवाहरु भने सञ्चालन नगर्ने निर्णय भएको उनले बताए । 

बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तीमा साउन २५ देखि भदौ ८ सम्म यो निर्णय लागू हुने छ ।  

‘अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक कार्यालयहरु तथा भिडभाड हुने कार्यालयहरुमा पनि यस्तै मापदण्ड लागू गर्नुपर्छ भन्ने छलफल भएको छ,’ दाहालले भने, ‘त्यसका लागि सम्बन्धित कार्यालय प्रमुखले नै निर्णय गर्ने तय गरिएको छ।’

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ।

शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो।

 

३ बर्ष अगाडि

प्रतिक्रिया