क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार ७ दिनभित्र पेश गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नेपाल क्रिकेट संघ (क्यान) लाई निर्देशन दिइएको छ ।
क्यानको गरेको खेलाडीहरुको वर्गीकरण चित्त नबुझेको भन्दै खेलाडीले निवेदन दर्ता गराए पछि राखेपले क्यानसँग वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नका कारणसहित ७ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।
क्यानको असोज ६ गते चितवनमा सम्पन्न साधारण सभाले राष्ट्रिय पुरुष तथा महिला क्रिकेट खेलाडीको वर्गीकरण सार्वजनिक गरेको थियो । तर, उक्त वर्गीकरण उचित नभएको भन्दै चौतर्फी बिबाद भएपछि क्यानले खेलाडी वर्गीकरण निर्धारण समितिलाई महिला र पुरुष दुबै टिमका कप्तान, उपकप्तान र प्रशिक्षकसँग पुनः आवश्यक छलफल गर्न बिहीबार निर्देशन दिएको थियो ।
खेलाडी र प्रशिक्षकसँग छलफल गरि सुझावसहितको वर्गीकरण प्रतिवेदन आगामी बोर्ड बैठकमा पेस गर्न क्यानले समितिलाई निर्देशन दिएको थियो ।
यसअघि कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा संघका केन्द्रीय सदस्यहरु अमितवीर पाण्डे र दुर्गाराज पाठक सदस्य रहने गरी खेलाडी वर्गीकरण निर्धारण समिति गठन गरिएको थियो । क्यानको वर्गीकरण समितिलाई पुनः छलफल गर्न दिएको निर्देशनलाई राखेपले स्वागत गरेको जनाएको छ ।
प्रतिक्रिया