काेराेनापछि मैदान प्रवेश गरेकाे ३ मिनेटमै राेनाल्डाेले हाने २ गाेल

सोमबार, १७ कार्तिक २०७७, ०८ : ३५

फुटबलर क्रिस्टियानो रोनाल्डोले कोरोनाभाइरसको संक्रमणपछि पहिलो खेलमा दुई गोल गरेका छन् ।

कोरोनाभाइरसको संक्रमणका कारण दुई हप्ता मैदानबाहिर रहेका रोनाल्डोले मैदान फर्किएपछि पहिलाे खेलमै २ गाेल हानेर युभेन्टसलाइ सहज जीत हासिल गर्न सफल बनाएका छन् ।

कोरोनाका कारण ४ खेल गुमाएका रोनाल्डो स्पेजिय र युभेन्टसबीच भएकाे खेलकाे दोस्रो हाफमा सब्सटिट्युटका रुपमा मैदान प्रवेश गरेको तीन मिनेटभित्र नै गोल गरेका थिए ।

राेनाल्डाेकाे गाेलसँगै गएराती भएकाे खेलमा स्पेजियमाथि युभेन्टसले ४–१ को सहज जीत हासिल गरेकाे छ ।

खेल १–१ को बराबरीमा रहेको बेला रोनाल्डोले गोल गर्दै युभेलाई अग्रता दिलाएका थिए । ७६ औँ मिनेटमा उनले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । खेलको अन्त्यमा एड्रियन राबियोटले युभेको लागि चौथो गोल गरे ।

यसअघि अल्भारो मोराटाले खेलको १४ औँ मिनेटमा युभेन्टसलाई अग्रता दिलाए पनि टोमासो पोबेगाले बराबरी गोल फर्काएका थिए । जीतसँगै १२ अंक बटुल्दै साबिक विजेता टोली लिगको तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानमा रहेको एसी मिलानभन्दा युभेन्टस ४ अंकले पछि रहेको छ ।

रोनाल्डो गत १३ अक्टुबरमा कोरोना पोजेटिभ पाइएका थिए । समयमा नगेटिभ रिजल्ट प्राप्त नगर्दा गत बुधबार च्याम्पियन्स लिगमा बार्सिलोनाबिरुद्धको खेल उनले गुमाएका थिए ।

सोमबार, १७ कार्तिक २०७७, ०८ : ३५

प्रतिक्रिया