पाला बनाउन व्यस्त छन् भक्तपुरका कुमाल समुदाय

३ बर्ष अगाडि

नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारको लागि आवश्यक सामाग्री भाइ मसला, फलफूल, सयमत्री र मखमली फूलको मालासँगै दियो बाल्ने पालाको समेत खपत र माग दिनानुदिन बढ्दो छ ।

बजारमा पालाको माग बढेसँगै भक्तपुरका कुमाल समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने र पोलेर तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । “तिहार आउन एक साता पनि समय छैन । अबको दुई या तीन दिनभित्र माग अनुसारको पाला दिन नसके बनाएको व्यर्थ हुन्छ”, भक्तपुरको पोटरी स्क्वायरले परिचित तालक्वका रामप्रसाद प्रजापतिले भन्नुभयो ।

उहाँका अनुसार अचेल तालक्वका कुमाल समुदायका प्रजापतिको दिनचर्या नै पाला तयार गर्नेमा नै बित्ने गरेको छ । तिहारलाई पालाको माग उच्च हुने भएपछि यतिखेर उनीहरुले अन्य माटाका भाँडा बनाउने कामलाई थाती राखेका छन । तिहारमा लक्ष्मी पुजाका लागि केही माग आउने भएकाले खुत्रुके बनाएपनि अन्य भाडा बनाउने कामलाई थाती राखेको रामप्रसादले बताउनुभयो । “बिहान सबेरै उठ्यो, अघिल्लो दिन नै तयार गरी राखेको माटोलाई थप तयार गरी पाला बनाउने, सुकाउने र सुकिसकेको पालालाई पोलेर तयार गरी माग अनुसार बजार पठाउने काममा नै दिन बित्छ । अहिले अन्य भाँडाकुँडा बनाउने फुर्सद छैन,” उहाँले भन्नुभयो ।

पालाको माग धान्न सो परिवारका महिला पुरुष मात्र होइन केटाकेटीहरु समेत पाला तयारीमा जुट्ने गरेका छन । यसवर्ष कोरोना भाइरसको महामारीका कारण विद्यालय नखुलेका कारण र्फुसदमा रहेका केटाकेटीहरु बुबा आमाको काममा सहयोग गर्न तल्लिन देखिन्छन ।     अहिले भक्तपुरका तालक्वका प्रजापति मात्र होइन सूर्यमढी, लिवाली, तुमुचो, च्याम्हासिहं र सूर्यविनायकका कुमालले अन्य भाडा बनाउने कार्यलाई थाती राख्दै पाला बनाउने कार्यमा तल्लिन छन् । तिहार विशेषगरी धनकी देवी लक्ष्मीको पूजा गर्ने पर्व पनि भएकाले तिहारमा फलफूल, सयपत्री फूलसँगै झिलीमली बत्ती बाल्ने गरिन्छ । धनकी देवी लक्ष्मीलाई घरमा भित्र्याउन तिहारमा झिलीमिली बत्ती बाल्ने परम्परा रहेको छ । 

तिहारको लक्ष्मी पूजाको दिन दिपावली गर्न घरको दैलो, झ्याल ढोका, कौशी, बरण्डालगायतका स्थानमा पालाको दियो बाली झिलीमिली पार्ने परम्परा रहेको छ । तिहारमा बत्ती बाल्नकै लागि विद्युतको माग समेत उच्च हुने गरेको छ ।

तिहारमा बिजुलीका रङ्गीचङ्गी बत्ती बालेर झिलीमिली पार्ने गरे पनि अनिवार्य रुपमा दियोसमेत बाल्नुपर्ने परम्परा भएकाले तिहारमा वर्षेनी पालाको माग बढ्ने गरेको व्यवसायी बताउँछन् । केही वर्ष अघि मैनबत्ती बाल्ने प्रचलन देखिए पनि दियो जस्तो सुरक्षित नभएपछि मैनबत्ती विस्तारै विस्थापित हुँदै गएकाले पालाको माग बढेको पाला व्यापारीहरु बताउँछन । “विभिन्न आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाजोमा सुरक्षाको दृष्टिकोणले पालालाई अत्यन्तै राम्रो र उत्तम मानिने भएकाले बजारमा यसको माग बढेको हो,” रामप्रसादले भन्नुभयो ।

कुमालहरुले तयार भएको पाला थोक व्यापारीलाई बिक्री गर्ने गरेको जानकारी दिए । थोक व्यापारीले एउटा पालाको एकदेखि दुई रुपैयाँमा हजारौँको सङ्ख्यामा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ता माझ पु¥याउने गरेको रामप्रसादले बताउनुभयो । क्तपुरको पाला काभ्रेको बनेपा, धुलीखेल, पनौती, नुवाकोटको त्रिशुलीका साथै पोखरा, हेटौँडा, चितवनका व्यापारीले पनि लिन आउने गरेको रामप्रसादले बताउनुभयो ।

३ बर्ष अगाडि

प्रतिक्रिया