स्मार्ट लाइसेन्स छाप्ने टेण्डरमा लाखाैंकाे चलखेल, महानिर्देशक हमालले २ महिनामा पनि सकेनन् मूल्यांकन

३ बर्ष अगाडि

काठमाडौं । यातायात व्यवस्था विभागले विद्युतीय सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छाप्नका लागि आह्वान गरेको बोलपत्र प्रकृयामा चलखेल गरेको छ । 

स्मार्ट लाइसेन्स छपाइका लागि बोलपत्र मूल्यांकन गरी कम्पनी छनौटको काम २ महिना सम्म पनि नटुंग्याएर विभागले चलखेल गरेको हो । 

१४ लाख थान स्मार्ट लाइसेन्सको छपाईका लागि असार २९ गते  आह्वान गरेको ग्लोबल टेन्डरमा बोलपत्र पेश गर्ने अन्तिम मिति भदौ ३० गते सकिएको थियो । 

जसमा मद्रास सेक्युरिटी प्रिन्टर्स, सेल्प एसएसए र आइरेस गरी ३ वटा कम्पनीले बोलपत्र पेश गरेका छन् । टेन्डरको छनौट गर्न गठित समितिले तीनवटै कम्पनीले उपलब्ध गराउने लाइसेन्सको नमुना छपाइ परीक्षण समेत गरिसकेको छ । तर, टेन्डरको अन्तिम म्याद सकिएको २ महिना बितिसक्दा पनि कुनै पनि कम्पनीलाई एलओआई (लेटर अफ इन्डेन्ड) दिएको छैन ।

बोलपत्र पेश गरेकामध्ये मद्रास सेक्युरिटी प्रिन्टर्स भारतीय कम्पनी हो । यो कम्पनीले अघिल्लो ३ पटकसम्मको स्मार्ट लाइसेन्स छपाइको जिम्मेवारी पाएको थियो । सेल्प फ्रान्सेली कम्पनी हो भने आइरेस मलेसियन कम्पनी हो । सो प्रक्रियामा मद्रास सेक्युरिटी प्रिन्टर्सले १.०१ डलर प्रतिकार्डको दरमा छपाई गर्ने जनाएको छ । त्यस्तै, सेल्पले एउटा कार्डको ०.८० डलर तथा आइरेसले ०.५९ डलरमा छपाई गर्नेगरी बोलपत्र पेश गरेका छन् । 

यसअघि ३ पटकसम्म खरिद गरिसकेको अनुभव भएको कारणले यो बोलपत्रकर्ता र बोलपत्रदाताको लागि समेत यस्तो टेन्डर प्रक्रिया अभ्यस्त भइसकेको छ । तर, कागजात अध्ययनको नाममा २ महिनासम्म पनि प्रक्रिया नटुंयाउनु भनेको चलखेलका लागि भएको विभागकै कर्मचारीको भनाई छ । 

‘सामान्यतया पूर्वयोग्यता पुगेका र प्राविधिक रुपमा सक्षम देखिएको अवस्थामा सबैभन्दा कम आवेदन गर्ने पहिलो कम्पनी ९एल–१० लाई अवार्ड गर्नुपर्ने प्रावधान छ’,  उनी भन्छन्, ‘तर, मूल्यांकन प्रक्रिया अनावश्यक रुपमा लम्ब्याइनु भनेको चलखेलकै लागि हो ।’ 

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमाल बोलपत्रदाता कम्पनीहरुले पेश गरेको कागजातहरु अध्ययन गर्न समय लागेकोले प्रक्रिया लम्बिएको बताउँछन् । ‘टेन्डर प्रक्रिया मूल्यांकनको चरणमा छ, त्यसैले के हुँदैछ भन्ने त मलाई पनि थाहा हुँदैन । ३ वटा कम्पनीको आवेदन परेको छ । धेरै डकुमेन्ट अध्ययन गर्नुपर्ने भएकोले समय लागेको हो’ हमालले भने ।

तर हमालले जे सुकै बाहना बनाएपनि उनले भनेजस्तो धेरै डकुमेन्ट अध्ययन गर्नुपर्ने भएकोले समय लागेको होइन । किनकी एक त विभागले नै तीन तीन पटकसम्म यस्तो टेण्डर प्रकृया टुंग्याएर काम गरिसकेको छ । अर्कोतर्फ  विद्युतीय पासपोर्टजस्तो जटिल टेन्डरको प्रक्रिया पनि बोलपत्र आह्यान गरेको एक सातामै टुंगो लगाइएको थियो । असोज २९ गते बोलपत्र पेश गर्ने अन्तिम मिति रहेकोका कात्तिक ५ गते फ्रान्सको आइडेमिया कम्पनीलाई एलओआई दिइएको थियो । 

तर यो विद्युतीय लाइसेन्सको टेन्डर प्रक्रिया अरु अन्तर्राष्ट्रिय बोलपत्रजस्तो जटिल प्रक्रिया पनि नभएको जानकारहरुको भनाइ छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया