शनिबार सन्दीप बिगबासमा पहिलो खेल खेल्दैं

शुक्रबार, १७ पुस २०७७, १२ : २३

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारीबिग बास लिगमा यस यामको पहिलो खेल शनिबार खेल्दै छन् । 

१४ दिनको अनिवार्य क्वारेन्टाइनको समय सकिएपछि उनले पहिलो खेल उनको पुरानो क्लब मेलवर्न स्टार्सविरुद्ध खेल्दै छन् । 

लामिछानेले मेलवर्न स्टार्सविरुद्धको खेल खेल्ने पक्का भएको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । 

होबार्ट हुरिकेन्समा आबद्ध लामिछानेले कोरोना भाइरसको सङ्क्रमणका कारण यस यामका शुरुआतका ६ खेल गुमाएका थिए । 

नेपालमै हुँदा कोरोनाबाट सङ्क्रमित भएका कारण लामिछानेलाई बिगबास लिग खेल्नका लागि अष्ट्रेलिया जान ढिला भएको थियो । 

अस्ट्रेलिया पुगेपछि पनि अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नुपर्ने भएका कारण उनी प्रारम्भका ६ खेल खेल्नबाट वञ्चित भएको व्यवस्थापक शिवाकोटीले जानकारी दिए । 

उनी बुधबार क्वारेन्टाइन मुक्त भएका हुन् । उनी सम्मिलित टोली होबार्ट सातौँ खेल खेल्ने तयारीमा छ । हालसम्म खेलेका ६ खेलमा होबार्ट चारमा जित तथा दुई खेलमा हारका साथ आठ टोली सम्मिलित बिगबासको तेस्रो स्थानमा रहेको छ । 

बिगबास खेल्न लामिछाने गत मङ्सिर ३० गते अष्ट्रेलिया गएका हुन् । क्वारेन्टाइन अवधि सकिएपछि उनी  नियमित अभ्यासमा जुटेको व्यवस्थापक शिवाकोटीले बताए । 

लामिछानेले खेल्ने शनिबारको खेल नेपाली समय अनुसार बिहान पौने १२ बजे शुरू हुने बताइएको छ । उनले तेस्रो पटक बिगबास लिग खेल्न लागेका हुन् । 

लामिछानेले यसअघि दुई यामको बिगबास मेलवर्न स्टार्सबाट खेलेका थिए । ती दुई याममा उहाँले कूल २० खेल खेल्दै २६ विकेट लिएका थिए । 

राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने क्रममा लामिछाने कोरोनाबाट सङ्क्रमित भएपछि केही समय आराम गर्दै त्यसबाट मुक्त भएपछि मात्र उनी अष्ट्रेलिया उडेका हुन् ।

शुक्रबार, १७ पुस २०७७, १२ : २३

प्रतिक्रिया