काठमाडौं- नारायण रायमाझी निर्देशित मल्टीस्टारर फिल्म ‘परदेशी २’ अर्को वर्ष (२०७८) को दशैंमा देशव्यापी प्रदर्शनमा आउने भएको छ । यो फिल्म यस वर्षको दशैंमा नै प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोना भाइरसका कारण छायांकन पूरा नहुँदा फिल्म प्रदर्शनमा आउन सकेन । वितरकसँगको छलफलपछि निर्माण टिमले अर्को वर्षको दशैंलाई फिल्मको प्रदर्शन मिति तोकेको हो ।
फिल्मको कथा दशैंको परिवेशसँग जोडिएकाले प्रदर्शन पनि दशैंलाई नै रोजिएको निर्देशक रायमाझीले बताए । लकडाउनभन्दा अगाडि ५० प्रतिशत छायांकन भएको फिल्मको बाँकी छायांकन दशैंपछि गरिएको थियो । पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा छायांकन भएको फिल्मले अध्ययनका लागि विदेशिने नेपाली विद्यार्थीहरुको विषयवस्तु उठान गरेको छ ।
नारायण इन्टरनेशनलको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीले मिलेर फिल्म निर्माण गरेका हुन् । रमेश विजीको कथा रहेको फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतको अभिनय रहेको छ । गायक सपुतले यही फिल्मबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् ।
सुदिप कुँवर मुख्य सहायक निर्देशक रहेको फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन छ । यसअघि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका निर्देशक रायमाझी ‘परदेशी २’ ले उठान गरेको विषयवस्तुले दर्शकको मन जित्नेमा विश्वस्त छन् ।
प्रतिक्रिया