काठमाडौं- संघर्षका विभिन्न चरण पार गरेर मोडलिङको दुनियाँमा आफ्नो फरक पहिचान बनाएकी नेपालकी ट्रान्सजेन्डर मोडल अञ्जली लामाले हलिउड फिल्ममा डेब्यू गर्ने भएकी छन् । नुवाकोटकी लामाले ६ भागमा निर्माण हुने ‘सेयरिङ ए राइड’ मा अभिनय गर्न लागेकी हुन् । लीना यादवले निर्देशन गर्ने फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ज्याकलीन फर्नान्डिसको पनि अभिनय रहनेछ ।
डेडलाइनको रिपोर्ट अनुसार, यो एक एन्थोलजी फिल्म हुनेछ, जसको शीर्षक ‘वुमेन्स स्टोरीज’ राखिएको छ । लर्वोलिनो इन्टरटेन्मेन्टको को(प्रोडक्सन र ‘वि डू इज टुगेदर’ ले निर्माण गर्ने फिल्ममा महिलाको जिन्दगीका अलग(अलग पक्ष देखाइनेछ । फिल्ममा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ ।
हलिउड फिल्मबाट अभिनय करिअर सुरु गर्न लागेकी अञ्जलीको जन्म पुरुषको रुपमा भएको थियो । अहिले उनी महिला बनेकी छन् । तेस्रोलिंगी समूदायबाट अन्तर्राष्ट्रिय जगतमा प्रतिनिधित्व गर्ने उनी नेपालको पहिलो मोडल हुन् । २०१६ मा भारतको प्रतिष्ठित ‘ल्याक्मे फेसन शो’ मा उनी उत्कृष्ट २० सम्म पुगेकी थिइन् । यसमा सहभागिता जनाउने उनी नै पहिलो तेस्रोलिंगी मोडल हुन् ।
‘ल्याक्मे फेसन शो’ मा सहभागिता जनाएपछि विश्वभर नेपालको पहिलो ट्रान्सजेन्डर मोडलको रुपमा चर्चा बटुलेकी उनी नेपाली फिल्ममा समेत डेब्यू गर्ने तयारीमा थिइन् । निर्माता सुनिल रावलले आफ्नो फिल्म ‘लाउरे’ मा उनलाई अनुबन्ध गरेका थिए । तर, यो फिल्म निर्माणकै क्रममा रोकियो । तीन वर्ष अगाडि उनको जीवनमा आधारित भएर एक डकुमेन्ट्री समेत निर्माण भएको थियो ।
प्रतिक्रिया