लोकगायक मिलन लामाले रत्ननगर नगरपालिका–९ लालपर्सामा विपन्न परिवारलाई पक्की घर निर्माण गरी हस्तान्तरण गरेका छन् ।
लामाले अर्थाभावका कारण झुप्रोमा बस्न बाध्य एकल महिला मधु कुमाललाई पक्की घर बनाएर हस्तान्तरण गरेका हु्न् । घर निर्माणका क्रममा दुई तलाबाट खसेर श्रीमान्को मृत्यु भएपछि मधु र उनका दुई छोरा लालपर्सास्थित कुमालटोलमा रहेको झुप्रोमा बस्दै आएका थिए । उनीहरुको दयनीय अवस्था देखेपछि गायक लामाले रु छ लाख खर्च गरेर जस्तापाताले छाएको एकतले नयाँ पक्की घर निर्माण गरिदिएका हुन् । उनले सो घर सो कुमाल परिवारलाई बिहीबार हस्तान्तरण गरेका हुन् ।
विदेशमा रहेका साथीसँग सहयोग जुटाएर घर निर्माण गरेको गायक लामाले बताए । घरसँगै धारासमेत बनाइएको छ । स्थानीय पत्रकार होमनाथ सापकोटाका अनुसार अतिविपन्न वर्गका लागि घर बनाउन गायक लामाले विदेशमा आफूले गीत गाएवापत आउने पैसाले घर निर्माण अभियान शुरु गरेका थीए । ‘जीवनकालभर मिलन होम, १०० होम’ भन्ने अभियानका साथ विपन्न समुदायको घर निर्माण शुरु गरेका गायक लामाले अहिलेसम्म १६ घर निर्माण गरी विपन्न परिवारलाई हस्तान्तरण गरिसकेको सापकोटाले जानकारी दिए ।
प्रतिक्रिया