फिल्म पढ्न चाहने विद्यार्थीहरुलाई नयाँ अवसर :ओस्कार कलेजले  २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने

सोमबार, १९ माघ २०७७, १५ : ३५

काठमाडौं- नेपालको ओस्कार कलेजले यस वर्ष २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने भएको छ । ओस्कार कलेज फिल्मका विभिन्न विधामा अध्यापन गराउने उद्देश्यसहित १६ वर्ष अगाडि स्थापना भएको थियो । कोरोना भाइरसको महामारीका कारण फिल्म पढ्ने इच्छा भएका विद्यार्थीको सपना आर्थिक अभावका कारण नरोकियोस् भन्ने मनसायले २४ जनालाई छात्रवृत्ति दिन लागेको कलेजले जनाएको छ । 
 
जसमध्ये २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ र बाँकी ४ जनालाई ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ प्रदान गरिनेछ । कलेजका अनुसार ‘कोभिड रिलिफ अवार्ड’ पाउने विद्यार्थीले ४ वर्षको अवधिमा विभिन्न आर्थिक सहयोग पाउनेछन् । त्यस्तै, ‘फिल्म एन्ड मिडिया प्रोफेसनल अवार्ड’ पाउने विद्यार्थीले पढाइ अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् । 
 
फिल्म पढ्न चाहने विद्यार्थी र कलेजबीचको सम्बन्ध प्रगाढ बनाउन छात्रवृत्तिको घोषणा गरेको कलेजले जनाएको छ । ओस्कार कलेजमा पढेर यो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले मिडिया तथा फिल्म उद्योगमा सक्रियताका साथ ५ वर्ष काम गरेको हुनुपर्नेछ । यो कलेजले सिंगापुरको इन्फिनिट स्टुडियोसँगको सहकार्यमा अन्तिम वर्षमा पढ्ने ५ जना विद्यार्थीलाई पनि छात्रवृत्ति दिँदै आएको छ ।

सोमबार, १९ माघ २०७७, १५ : ३५

प्रतिक्रिया