काठमाडौं- डिसेम्बर २०२० मा अभिनेता आयुष्मान खुरानाले फिल्म ‘डक्टर जी’ को घोषणा गरेका थिए । यसमा उनले पहिलो पटक डक्टरको भूमिका निर्वाह गर्दैछन् । जंगली पिक्चर्सले निर्माण गर्ने फिल्ममा उनको अपोजिटमा अभिनेत्री रकुल प्रित सिंह देखिने भएकी छन् । उनीहरुले पहिलो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । फिल्मको हिस्सा बन्न पाएकोमा रकुलले खुसी व्यक्त गरेकी छन् ।
उनले भनिन्, ‘आयुष्मानसँग यो मेरो पहिलो फिल्म हो । हामी दुईलाई साथ ल्याएकोमा जंगली पिक्चर्स र अनुभूति कश्यपलाई धन्यवाद दिन चाहन्छु । जबदेखि मैले यो फिल्मको स्क्रिप्ट सुनेँ, तबदेखि मलाई योसँग प्रेम भएको छ । यो एक रोमान्चक स्टोरी हो, जुन मेडिकल प्रोफेसनको वरिपरी घुम्छ । फिल्मले दर्शकलाई फरक स्वाद दिनेछ । म फिल्मको छायांकनको प्रतिक्षामा छु ।’
‘डाक्टर जी’ लाई अनुभूति कश्यपले निर्देशन गर्दैछिन् । योसँगै रकुलसँग अजय देवगन र अमिताभ बच्चन स्टारर फिल्म ‘मेडे’ पनि छ । अहिले उनी सिद्धार्थ मल्होत्रासँग फिल्म ‘थ्यांक गड’ को छायांकन गरिरहेकी छन् । साउथ फिल्ममा आफ्नो अलग पहिचान बनाएकी उनले बलिउडमा पनि राम्रो सफलता हात पारेकी छन् । उनको अभिनयसँगै सुन्दरताको निकै चर्चा हुने गरेको छ ।
प्रतिक्रिया