काठमाडौं- अभिनेत्री नीता ढुंगानाले देशको पछिल्लो राजनीतिक घटनाक्रमप्रति चिन्ता व्यक्त गरेकी छन् । देशभन्दा आफ्नो लागि सोच्ने नेताहरु धेरै भएका कारण जनताले दुःख पाएको उनको गुनासो छ ।
आइतवार फेसबुक लाइभमा आफ्नो विचार राख्ने क्रममा उनले भनिन्, ‘देशको अहिलेको स्थिति देखेर कोही खुसी छैन । जुन जोगी आए पनि कानै चिरेको भने जस्तो भएको छ । देशलाई कसरी विकास गर्ने भन्नेमा नेताहरु कहिल्यै चिन्तित देखिन्नन् । सबै आफ्नो कुर्सी कसरी जोगाउँ भन्नेमा छन् । नेताहरुको कहिले बुद्धि पलाउला अब देश विकास गर्न राम्रा मान्छे आउन आवश्यक छ ।’
देशमा गणतन्त्र, लोकतन्त्र र राजतन्त्र सबै आवश्यक रहेको औंल्याउँदै उनले अगाडि थपिन्, ‘अहिले यो मान्छे सही र अरु सबै गलत भनेर भन्दिनँ । तर, केपी सरकारको अहिलेको निर्णयहरु केही हदसम्म सही र केही हदसम्म गलत छन् । उहाँलाई जनताको राम्रो साथ रहेको देखेँ । उहाँका केही कुराहरु राम्रा छन् । अब कसरी हुन्छ देश र जनताका लागि राम्रो गर्नुपर्यो ।’
नीताले नेताका भाषणहरुलाई जनताले मजाकको रुपमा लिने गरेको र आफूले पनि मजाककै रुपमा लिएको बताइन् । ‘अहिले नेताहरुले दोहोरी खेलेको जस्तो लाग्छ । देशलाई नेताहरुले खेलौना सम्झिएका छन् कि जस्तो लाग्छ,’ उनी प्रश्न गर्दै भन्छिन्, ‘समृद्ध नेपाल कहिले बन्ने होला रु ढुक्कले काम गरेर हिँड्ने अवस्था कहिले आउला ?’ उनले नेताहरुलाई सच्चिन पनि आग्रह गरेकी छन् ।
प्रतिक्रिया