सञ्चार गृहलाई एक लाख

३ बर्ष अगाडि

काठमाडौं - कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई रु एक लाख उपलब्ध गराउने निर्णय गरिएको कताएका छन् । 

नेपाल पत्रकार महासङ्घ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले प्रसारकका साथै प्रकाशक सञ्चार गृहलाई पनि आर्थिक सहयोग गर्ने बताएका हुन्

“कर्णालीका एफएम रेडियो, केवल, टेलिभिजन र सिनेमालाई सूचना प्रसारण गरेवापत रु एक लाख दिने निर्णय गरेका छौँ”, उनले भने, “शुरुआतमा यसको ५० प्रतिशत रकम उपलब्ध गराउँछौँ र सूचना प्रकाशन प्रसारणपछि पूरा रकम उपलब्ध गराउँछौँ ।”

मन्त्री भण्डारीले प्रसारक सञ्चार गृहलाई मात्र नभई छापा माध्यमका लागि पनि केही रकम छुट्याएको बताए । कर्णालीका पत्रकारहरुका लागि दुर्घटना बिमाको कार्यक्रम ल्याएको जनाउँदै उनले भने, “हामीले पत्रकारिता विषयअन्तर्गत स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेका छौँ । अहिले पत्रकारहरु छात्रवृत्तिबाट पत्रकारिता विषय अध्ययन गरिरहनुभएको छ ।”

अनुसन्धानविनाको समाचार प्रकाशन तथा प्रसारणले नागरिकको मन जित्न नसक्ने भन्दै उनले त्रुटिपूर्ण नभई अनुसन्धानात्मक ढङ्गले स्रोतको पुष्टि हुने गरी समाचारहरु सम्प्रेषण गर्न सुझाव दिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले जनमैत्री पत्रकारिता अहिलेको आवश्यकता रहेको औल्याउँदै पछिल्लो समय प्रेस स्वतन्त्रतामाथि भएका ज्यादतीहरुको अन्त्य गर्न राज्यको ध्यानाकर्षण गराए । 

महासङ्घका कर्णाली प्रदेश अध्यक्ष दुर्गा थापाले पत्रकार आवाजविहीनको आवाज हुनुपर्नेमा जोड दिए । नागरिक अगुवा पिताम्बर ढकालले सङ्ख्यात्मक हिसाबबाट नभई गुणात्मक पत्रकारिताको विकासले सभ्य समाज निर्माणमा सहयोग पुग्ने बताए । 

महासङ्घ जिल्लाशाखाको २५औँ साधारणसभाबाट शान्ति तथा विकास पत्रकारिता, खानेपानी तथा सरसफाइ पत्रकारिता लगायतका विभिन्न विधागत पत्रकारिताबाट पत्रकारहरु भानुभक्त खड्का, डम्बर आचार्य, देवीराम देवकोटा, ललित बुढा, मानबहादुर ओली, खिम बुढा, मधुवन विसी, चाँदनी कठायत र गीता थापा पुरस्कृत तथा सम्मानित भएका थिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया