निर्माता तथा निर्देशक अरुण खड्काले फिल्म ‘फटाह फणिन्द्रे’ निमार्ण गर्ने भएका छन् । फिल्ममा अभिनेता कर्मा र अभिनेत्री छुल्ठिम गुरुङ मुख्य अभिनय रहने छ ।
मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर निर्माता खड्काले फिल्मको मुख्य भूमिकाको लागि कर्मा, छुल्ठिम र रोहित रुम्बालाई अनुबन्धित गरेका हुन् ।
केही अगाडि घोषणा भएको यो फिल्मको मुख्य भूमिकाको लागि यस अगाडि सुस्मा कार्की अनुबन्धित भैसकेकी छन् । फिल्मका लागि अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् ।
श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् । विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायाँकन रहनेछ ।
उत्तम केसीको कथा रहेको फिल्ममा पट्कथा, संवाद हिमाल उप्रेती सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
फिल्म निर्माणको सिलसिलामा आफूले यो क्षेत्रमा बिताएको एक दशकमा सिकेको र बटुलेको अनुभव ‘फटाह फणिन्द्रे’मा निर्देशक मार्फत खन्याउन लागेको खड्काले बताए । चैत्रको पहिलोसाताबाट छायाँकन सुरु हुने फिल्मले अपराधको बिषय कमेडीको माध्यमबाट पस्कन लागेको हो । फिल्मका निर्माण नियन्त्रक नेत्र विष्ट हुन् ।
प्रतिक्रिया