काठमाडौं- आज प्रेम दिवस दिन हो । कतिपय जोडीले प्रेमकथामा आधारित फिल्म हेरेर पनि भ्यालेन्टाइन डेलाई स्मरणीय बनाउने गरेका छन् ।
फिल्म ‘सानो संसार’ । २००८ मा प्रदर्शन भएको स्वर्गीय आलोक नेम्वाङ निर्देशित फिल्ममा कर्मा, नम्रता श्रेष्ठ, नीर शाह, विनय श्रेष्ठ, जीवन लुईटेलको मुख्य भूमिका छ । २ घन्टा २४ मिनेटको यो फिल्म भ्यालेन्टाइन डेको अवसर पारेर १३ वर्षपछि सिनेमा हलमा पुनः प्रदर्शनमा आएको छ । शुक्रवारबाट क्यूएफएक्सहित विभिन्न मल्टीप्लेक्स हलमा फिल्म रि(रिलिज भएको हो ।
क्यूएफएक्सका मालिक नकिम उद्दिन, राजेश सिद्धि र भाष्कर ढंगानाले निर्माण गरेको फिल्म त्यसबेला समीक्षात्मक रुपमा अब्बल ठहरिएको थियो । यो नेपालमा निर्माण भएको दोस्रो डिजिटल फिल्म समेत हो । यही फिल्मबाट नम्रताले अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । सन् २०१३ मा यूट्युबमा सार्वजनिक भइसकेको ‘सानो संसार’ रवि (कर्मा) र ऋतु (नम्रता) को वरिपरी घुमेको छ ।
कोरोनाका कारण सरकारले लकडाउन घोषणा गरेपछि ९ महिनासम्म बन्द भएका सिनेमा हल पुष १० गतेबाट सञ्चालनमा आए पनि दर्शकको उपस्थिति उत्साहजनक छैन । नयाँ नेपाली फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ र साउथ फिल्म ‘मास्टर’ ले समेत हलमा दर्शक तान्न सकेन । अब चैत २७ मा रिलिज हुने तीन फिल्म ‘मनसँग मन, कृष्ण लीला र लप्पन छप्पन २’ प्रति धेरैको आश छ ।
प्रतिक्रिया