काठमाडौं- फिल्म ‘नोभेम्बर रेन २’ लागि मुख्य भूमिकामा अभिनेता अनमोल केसीलाई अफर गरिएको छ । शनिवार साँझ निर्माता गिरीले अनमोल र उनका पिता भुवन केसीसँग भेट गरेका थिए र त्यही क्रममा उनले ‘नोभेम्बर रेन २’ को प्रस्ताव अनमोललाई गरेका हुन् । अनमोलले आफूलाई फिल्मबाट अफर भएको कुरा स्वीकार गरे । अनमोल र सुवासको यसअघि फिल्म ‘कृ’ मा सहकार्य भएको थियो ।
निर्माता गिरी ‘नोभेम्बर रेन २’ निर्माणको तयारीमा जुटे पनि उनका भरपर्दा निर्देशक मानिने दिनेश राउत भने यस विषयमा अनविज्ञ रहेछन् । यो फिल्मको बारेमा कसैले आफूसँग कुरा नगरेको उनले बताए । ‘यो कुरा म पहिलो पटक सुन्दैछु । सुवास दाईसँग यस विषयमा अहिलेसम्म कुराकानी भएको छैन,’ उनले भने । फिल्मको बारेमा बुझ्न खोज्दा निर्माता गिरीसँग भने सम्पर्क हुन सकेन ।
दिनेश राउत निर्देशित तथा सुवास गिरी निर्मित ‘नोभेम्बर रेन’ २०७१ सालको व्यवसायिक र समीक्षात्मक रुपमा सफल भएको फिल्म हो । लभस्टोरी ड्रामामा अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा थिए । यसलाई उनीहरुको करिअरको उत्कृष्ट फिल्म मानिन्छ । अब निर्माता गिरी यो फिल्मको दोस्रो पार्ट अर्थात् सिक्वेल निर्माणको तयारीमा जुटेका छन् ।
प्रतिक्रिया