मलेसियामा कार्यरत नेपाली श्रमिकलाई सामाजिक सुरक्षा !

३ बर्ष अगाडि

 दुई वर्ष अगाडि नेपाल र मलेसियाबीच भएको श्रम समझदारीले प्रत्याभूत गरेको नेपाली श्रमिकको सामाजिक सुरक्षासम्बन्धी विषय ढिलै भए पनि कार्यान्वयनमा आएको छ । 

नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाका सामाजिक सुरक्षा संस्था (सोस्को) बीच सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएसँगै मलेसियामा कार्यरत नेपाली श्रमिकले श्रम समझदारीको प्रावधानअनुसार सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने अवस्था सिर्जना भएको हो । 

नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिको प्रवद्र्धनसम्बन्धी सहकार्यको समझदारीपत्रमा हस्ताक्षर भएको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली दूतावासको सक्रियतामा समझदारीको मस्यौदामाथि विभन्न चरणमा भएको छलफलपश्चात गत माघ २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त समझदारीमा हस्ताक्षर गर्न सैद्धान्तिक सहमति दिएको थियो । 

मन्त्रिपरिषद्को निर्णयानुसार यही फागुन ४ गते नेपालको तर्फबाट बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र फागुन १४ गते सोस्कोेका प्रमुख कार्यकारी अधिकृत डा मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले उक्त समझदारी पत्रमा हस्तक्षर गर्नुभएको थियो । कोरोना–१९ जोखिमलाई मध्यनजर गर्दै पत्र आदानप्रदानमार्फत काठमाडौँ र क्वालालम्पुर गरी दुवै स्थानमा समझदारीपत्रमा हस्ताक्षर भएको दूतावासले जनाएको छ । 

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली श्रमिकमाथि हुँदै आएको चर्को शोषण र गन्तव्य मुलुकमा श्रमिकमाथि हुने विभेदलाई दुई देशबीचको श्रम समझदारीले अन्त्य गरिदिएको थियो । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले पेट पाल्नकै लागि विदेशी भूमिमा पसिना बगाउन बाध्य नेपाली कुनै पनि हालतमा ठगिनु नहुने र उनीहरुले सम्बन्धित मुलुकमा श्रम कानूनले प्रत्याभूत गरेका अधिकार उपभोग गर्न पाउनुपर्छ भन्दै मलेसियालाई श्रमिक पक्षीय समझदारीमा सहमत गराउन ठूलो भूमिका निर्वाह गरेका थिए  । 

विष्टकै अडान र पहलमा भएको सो समझदारीमा नेपाली श्रमिकलाई मलेसियाको श्रम कानूनअनुसार सामाजिक सुरक्षाको प्रत्याभूति गराउने विषय समेटिएको छ । दुई देशबीच भएको श्रम समझदारीले श्रमिकको सामाजिक सुरक्षासहित आधारभूत अधिकारलाई सुनिश्चित गरेको छ । सोही समझदारीको जगमै नेपाली श्रमिकले मलेसियामा सामाजिक सुरक्षा पाउन लागेका हुन् ।

कार्यस्थलमा हुने श्रमिकको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानूनले श्रमिकको सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली श्रमिकका हकमा समेत लागू हुने दुई देशबीच भएको समझदारीमा समेटिएको छ । वैदेशिक रोजगारीका क्रममा श्रमिकको अङ्गभङ«ग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूतावासलाई जानकारी गराउनुपर्ने तथा श्रमिकको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने समझदारीमा उल्लेख छ । नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको केही समयपछि नै मलेसियाले विदेशी श्रमिकका लागि सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने घोषणा गरेको थियो । 

३ बर्ष अगाडि

प्रतिक्रिया