कोरोनापछि नेपथ्यको पहिलो कोसेली ‘यो जिन्दगानी’ (भिडियोसहित)

३ बर्ष अगाडि

काठमाडौं -  नेपथ्यको ‘यो जिन्दगानी’ सार्वजनिक भएको छ । कोरोना महामारीपछि नेपथ्यको यो पहिलो सांगीतिक कोसेली हो । 

भूकम्पको कारण क्षतिग्रस्त बन्न पुगेको दोलखाको एक सरकारी विद्यालय निर्माणार्थ गत वर्षको फागुन १७ गते नेपथ्यले आफूलाई प्रस्तुत गरेको थियो । भृकुटीमण्डपमा आयोजित त्यो कन्सर्ट कोरोना अघि ब्याण्डको अन्तिम कन्सर्ट बनेको थियो ।

नेपथ्यले आफ्नो सर्वकालिक हिट गीतको ‘लाइभ भिडियो’ श्रोता दर्शक माझ ल्याएको छ । चर्चित गीत ‘जीवन हो घाम छाया, सुख दुःख दुवै हुन्छ’लाई नेपथ्यले पुनः श्रोता दर्शकमाझ ल्याएको हो ।

यो गीत नेपथ्यले दुइ दसकअघि उसको प्रसिद्ध एलबम ‘रेशम’मा समेटेको थियो । गीतमा संगीतकर्मी श्यामसुङ तामाङको शब्द छ । गीतको अडियो भिजुअल यसअघि पनि तयार भएको थियो । 

झण्डै डेढ दसक अघि जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा आयोजित नेपथ्यको कन्सर्टका बेला अपाङ्गता भएका दर्शकहरूको प्रतिक्रियालाई समेटेर यो गीतको भिडियो बनाइएको थियो ।

पछिल्लो पटक भने यस गीतलाई गत वर्ष भृकुटी मण्डपमा प्रस्तुत गर्दा त्यहाँ उपस्थित श्रोता दर्शकको प्रतिक्रियालाई नै समेटेर यो नयाँ ‘लाइभ भिडियो’ तयार पारिएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया