काठमाडौं - नेपाली कथानक चलचित्र ‘बाबरी’को मुख्य अभिनेता परिवर्तन गरिएको छ । चलचित्रको छायांकन सुरु हुन लागेको समयमा मुख्य अभिनेता नै परिवर्तन गरिएको हो ।
यसअघि यो चलचित्रमा गायक नितेशजंग कुँवरको मुख्य भूमिका रहने पक्का भएको थियो । तर, नितेशले पारिवारिक कारणले गर्दा यो चलचित्रमा काम गर्न नपाउने भएका छन् ।
नितेशले निर्माणपक्ष सँगको सहमतिमै चलचित्र छाडेपछि अब यसमा पछिल्लो समयका हटकेक नायक धिरज मगरको प्रवेश भएको छ ।
धिरजले केही दिन अगाडि मात्र यो चलचित्र साइन गरिसकेका छन् । यो चलचित्र साइन गरेर धिरज चलचित्र ‘आई एम ट्वान्टी वान’को बाँकी केही दृश्यको छायांकनका लागि धरान पुगेका छन् ।
चलचित्रमा अब नायक धिरज मगर र नायिका अदिती वुढाथोकीको अभिनय रहनेछ । चलचित्र ‘कृ’मा काम गरेर चर्चा कमाएकी अदितीको यो दोश्रो चलचित्र हो ।
उनकै होम प्रोडक्शनमा बन्न लागेको यो चलचित्रलाई प्रेमको कथामा निर्माण गर्न लागिएको छ । चलचित्रको छायांकन नेपाल र सिक्किममा हुनेछ ।
नायक धिरज मगर भने चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’बाट नै नेपाली चलचित्र क्षेत्रमा स्टार बनिसकेका छन् । यसैले, पनि धिरजको प्रवेशसँगै चलचित्रको स्टारकास्ट बलियो बनेको छ ।
बाबरी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको छायांकन चैत्रको २० गतेबाट सुरु हुँदैछ ।
यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । सुरेन्द्रले यसअघि चलचित्र ‘आभाष र कृ’ निर्देशन गरिसकेका छन् ।
प्रतिक्रिया