काठमाडौं- अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ४’ ले भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको थियो ।यो मितिमा अभिनेता धिरज मगर र अभिनेत्री जसिता गुरुङ स्टारर फिल्म ‘आइ एम ट्वान्टिवान’ पनि प्रदर्शनमा आउने चर्चा छ ।
अब यही मितिमा अर्को फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शन हुने पक्का भएको छ । दुबईमा एक हप्ता लामो छायांकनपछि निर्माण टिमले मंगलवार भदौ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । यो फिल्म गत वर्षको तीजमा नै प्रदर्शनमा आउने तयारीमा थियो । तर, विभिन्न कारणले पोस्टपोन्ड भएको फिल्मलाई अब आउँदो तीज छेकोमा प्रदर्शन गर्न लागिएको हो ।
सुदर्शन थापा निर्देशित फिल्मको दुई वर्ष अगाडि बेलायतमा छायांकन भएको थियो । यसपछि नेपालका विभिन्न स्थानमा खिचिएको फिल्मको केही प्रतिशत छायांकन दुबईमा गरिएको छ । अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठको मुख्य भूमिका रहेको यो फिल्मबाट सोनम तोप्देनले नायकको रुपमा डेब्यू गर्दैछन् ।
प्रतिक्रिया