काठमाडौं - कतारमा श्रमिकको पारिश्रमिक वृद्धि गरिएको छ । चैत ७ गतेदेखि लागू हुनेगरी पारिश्रमिक वृद्धि गरी न्यूनतम तलब एक हजार रियाल (३० हजार रुपियाँ) बनाइएको हो ।
यो लागू भएसँगै कतारमा रहेका नेपालीसहित अन्य आप्रवासी श्रमिक लाभान्वित हुने भएका छन् ।
कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मन्त्रालयले गत ६ महिना पहिले नै घोषणा गरे पनि अहिले आएर कार्यान्वयनमा ल्याएको बताइएको छ ।
न्यूनतम तलब सुविधा अहिले अनिवार्य कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था ल्याए पनि कतारमा ५ हजार भन्दा बढी कम्पनीले यसअघि नै न्यूनतम तलब सुविधा कायम गरिसकेको कतार सरकारले जनाएको छ ।
अब कतारी रोजगारदाता कम्पनीले कतारमा रोजगारीमा रहेका सबै आप्रवासी श्रमिकलाई न्यूनतम तलब एक हजार रियाल तथा अन्य सुविधा उपलब्ध गराउनु पर्ने भएको छ ।
नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीहरूले सोहीअनुरूप श्रमिकसँगको रोजगार करारपत्रमा पनि संशोधन गर्नुपर्ने जनाइएको छ ।
यो लागू भएसँगै कतारमा हाल कार्यरत रहेका झन्डै साढे ४ लाख नेपाली श्रमिकले लाभ लिनसक्ने भएका छन् ।
प्रतिक्रिया