५ सय ५१ म्यानपावरले एक जना पनि कामदार विदेश पठाउँन सकेनन्

विहीबार, १२ चैत्र २०७७, ०८ : ४८

काठमाडौं - गतवर्ष चैत ११ गतेबाट लकडाउन भए पनि वैदेशिक रोजगार त्यसअघि नै फागुन ३० गतेबाट बन्द भएको थियो । 

सरकारले चार महिनापछि गत असार १४ गने वैदेशिक रोजगारमा जाने कामदारको श्रम स्वीकृति खुला गरेको थियो । तर विदेशस्थित अधिकांश नेपाली दूतावासहरूले मागपत्र प्रमाणीकरण नगर्दा नेपाल आउने कामदारको डिमान्ड घटेको छ । 

युएई लगायतका देशले सरकारको निर्णय लगत्तै मागपत्र प्रमाणीकरण शुरु गरे पनि साउदी अरबस्थित नेपाली दूतावासले नेपाल आउने कामदारको मागपत्र प्रमाणीकरण नै शुरु नगर्दा नेपाली युवायुवतीको रोजगारको अवसर गुम्नुका साथै नेपाल आउने राजस्व समेतमा नोक्सानी भएको छ । 

साउदी अरबस्थित नेपाली दूतावासले नयाँ वर्ष सन् २०२१ को जनवरी पछिमात्र फाट्ट फुट्ट रुपमा मागपत्र प्रमाणीकरण शुरु गरेको हो । मलेसियाबाट अझै डिमान्ड आउन सकेको छैन ।

वैदेशिक रोजगार विभागका अनुसार फागुन महिनामा बहराइन, साइप्रस, जापान, कुवेत, मरिसस, ओमन, कतार, रोमानिया, साउदी अरेबिया र युएई गरी ११ मुलुकका लागि जम्मा २६ हजार १४ जनाको पूर्व स्वीकृति भएको जनाएको छ । 
 
त्यसमा अधिकांश डिमान्डहरू कतारबाट आएका छन् । डिमान्ड कम हुँदा दर्ता रहेका ८ सय ५४ म्यानपावर कम्पनीहरू मध्ये फागुन महिनामा ३ सय ३० म्यानपावर कम्पनीहरूले मात्र वैदेशिक रोजगारीमा कामदार पठाउन पाएका छन् । 

५ सय ५१ अर्थात करिब ६४ प्रतिशत म्यानपावर कम्पनीले फागुनमा एक जना पनि कामदार पठाउन पाएनन् । कामदार पठाएका मध्ये दश वटा म्यानपावर कम्पनीले मात्र एक सय बढी कामदार पठाएका छन् । बाँकी ३ सय २० म्यानपावर कम्पनीले एक सय भन्दा थोरै कामदार पठाएका छन् ।

विहीबार, १२ चैत्र २०७७, ०८ : ४८

प्रतिक्रिया