फिल्म ‘मनसँग मन’ को प्रदर्शन मिति सर्‍यो, अब कहिले हुन्छ त रिलिज ?

सोमबार, १६ चैत्र २०७७, १८ : ५५

काठमाडौं-  भारतमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर जान थालेपछि नेपाल सरकारले उच्च सतर्कता अपनाउन र सभा, सम्मेलन लगायतका भीडभाड हुने कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । योसंगैं चैत २७ मा प्रदर्शनमा आउन लागेको  फिल्म ‘मनसँग मन’ ले पनि रिलिज पोस्टपोन्ड गरेको छ । 

सोमवार निर्माण टिमले प्रदर्शन मिति स्थगन भएको जानकारी दिँदै नयाँ पोस्टर सार्वजनिक गरेको छ । जसमा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।
 
फिल्ममा वुद्दि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको पनि मुख्य भूमिका छ । फिल्मको शिर्ष गीतमा भने नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन्, जुन यूट्युबमा सार्वजनिक भइसकेको छ । लकडाउनभन्दा अगाडि फिल्मको गीत बाहेकका दृश्य दार्जिलिङमा खिचिएको थियो । यो फिल्ममा पुष्पलाई दर्शकले रोमान्टिकसँगै एक्सन अवतारमा देख्न पाउनेछन् ।
 
फिल्ममा कैलाश राइको निर्देशन र अरुण तामाङको एकल लगानी छ । फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको द्वन्द्व छ । चैत २७ बाट ‘मनसँग मन’ सरेसँगै अब यो मितिमा फिल्म ‘कृष्ण लीला’ एकल प्रदर्शन आउने भएको छ ।

सोमबार, १६ चैत्र २०७७, १८ : ५५

प्रतिक्रिया