७ लाख ५० हजार बढी बेरोजगार सूचीकृत

बुधबार, १८ चैत्र २०७७, ०९ : ५१

काठमाडौं - विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विश्व अर्थतन्त्रको उत्पादन प्रणाली र आपूर्ति श्रृंखलामा पारेको प्रभावले अन्तर्राष्ट्रिय श्रम बजारमा संकुचन आउँदा वैदेशिक रोजगारीमा असर पारेको छ । 

यसले नेपाली श्रम बजारमाथि थप असर परेको छ । चैत ६ गतेसम्म देशभरीका ७ लाख ५० हजार बढी बेरोजगारको सूचीमा दर्ता भएका छन् ।

श्रम मन्त्रालयका अनुसार चैत ६ गतेसम्म देशभरीका ७ लाख ५१ हजार ५ सय जना बेरोजगारको सूचीमा दर्ता भएका हुन् । बेरोजगारको सूचीमा दर्ता भएका मध्येबाट प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत अहिलेसम्म ३३ हजार ७ सय ५० जनाले रोजगारी पाएको मन्त्रालयले जनाएको छ ।

सरकारले गएको कात्तिकमा रोजगार सेवा केन्द्रमा सूचीकृत विपन्न बेरोजगार व्यक्तिलाई कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना निर्माण तथा मर्मतमा संलग्न गराई रोजगारी दिन भन्दै ५६९ पालिकामा ३ अर्ब रुपैयाँ सशर्त अनुदान पठाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत २०७५ सालदेखि सञ्चालनमा आएको उक्त कार्यक्रमले मुलुकमा प्रत्येक वर्ष श्रम बजारमा आउने करिब ५ लाख युवायुवतीलाई रोजगारीको न्यूनतम प्रवन्ध गर्ने उद्देश्य लिएको छ ।

बुधबार, १८ चैत्र २०७७, ०९ : ५१

प्रतिक्रिया