काठमाडौं- नेपाली फिल्मका सबैभन्दा महंगा अभिनेता मानिने अनमोल केसीले फिल्म ‘कृ’ मा २० लाख पारिश्रमिक बुझेको खबरले ठूलै हलचल ल्याएको थियो । त्यत्तिबेला मंहगो परिश्रमिक लिने नेपाली कलाकारहरुका लागि सपनाझैँ थियो । यो फिल्मपछि उनलाई ५० लाखसम्मको अफर पुगेको थियो । अहिले उनलाई एक टिमले ७५ लाख पारिश्रमिकसहित फिल्मको प्रस्ताव गरेको चर्चा बाहिरीएको छ ।
‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्ट परिस्थिति सामान्य भएपछि एउटा मल्टीकास्ट फिल्म बनाउने तयारीमा छन् । यसका लागि उनले अभिनेता पुष्प खड्कासँग कागजी सम्झौता गरिसकेका छन् । अभिनेता द्वय निश्चल बस्नेत र सौगात मल्लसँग पनि मौखिक सहमति भइसकेको छ । फिल्मको टाइटल क्यारेक्टरको प्रस्ताव भने अनमोललाई गरिएको छ, त्यो पनि ७५ लाखमा ।
केही दिनअघि फिल्मीखबरसँगको कुराकानीमा निर्देशक भट्टले अनमोललाई फिल्म अफर गरेको स्वीकार गरेका थिए । तर, पारिश्रमिकको विषयमा अहिलेसम्म कुराकानी नभएको उनको भनाई थियो । अनमोलले भने आफूलाई ७५ लाख अफर भएको कुरा सत्य रहेको खुलाएका छन् । मंगलवार एक अन्तर्वार्तामा उनले यो प्रोजेक्टमा काम गर्ने सम्भावना प्रवल रहेको बताएका छन् ।
प्रतिक्रिया