काठमाडौं - वैदेशिक रोजगारीको प्रमुख गन्तव्य खाडी मुलुक साउदी अरेबियाले विदेशी कामदारको माग एप्रुभल गर्दा घरेलु कामदारलाई चिनाउन प्रयोग गरिदै आइएको ‘सर्भेन्ट’ तथा ‘मेड’ शब्द प्रयोगमा प्रतिबन्ध लगाएको छ ।
आप्रवासी कामदारको अन्तराष्ट्रिय पहिचान विपरित र उनीहरूको स्वाभिमानमा समेत चोट पुराउन सक्ने भन्दै मन्त्रालयले ‘सर्भेन्ट’ तथा ‘मेड’ शव्द प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
साउदी अरबको वाणिज्य मन्त्रालयले घरेलु कामदार आपूर्ति सम्बन्धी विज्ञापनमा मेड भन्ने शब्द राख्न बन्देज लगाउँदै घरेलु कामदारहरूको हैसियत जनाउन कामदार वा महिला कामदार भन्ने शब्द प्रयोग गर्नु पर्ने बताएको छ ।
त्यसैगरी यसअघि प्रयोग हुँदै आएको ‘किन्न र बेच्ने’ भन्ने शब्दहरूको सट्टा सेवाको परिवर्तन भन्ने शब्द प्रयोग गर्न निर्देशन दिएको छ ।
यसै बीच साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले घरेलु कामदार भागेमा वा करार अवधिसम्म काम गर्न इन्कार गरेमा रोजगारदातालाई बिमा भुक्तानीको निती ल्याउने तयारी गरेको बताएको छ ।
दुईवर्ष अवधिको हुने उक्त बिमा पोलिसीको प्रिमियम कामदार भर्ना दस्तुर बराबर ५ सय साउदी रियाल रहने छ ।
प्रतिक्रिया