७५ लाख पारिश्रमिक बारे के भन्छन् अनमोल ?

शुक्रबार, २० चैत्र २०७७, ०९ : ३१

काठमाडौं - नेपाली चलचित्रका चर्चित अभिनेता अनमोल केसीले ७५ लाख पारिश्रमिक बारे मुख खोलेका छन् । 

अहिले उनलाई एक टिमले ७५ लाख पारिश्रमिकसहित फिल्मको प्रस्ताव गरेको चर्चा चलिरहेको छ । यसबारे उनले मुख खोलेका हुन् । उनले आफूलाई ७५ लाख अफर भएको कुरा सत्य रहेको खुलाएका छन् । 

‘लप्पन छप्पन’ फेम्ड निर्देशक मुकुन्द भट्ट परिस्थिति सामान्य भएपछि एउटा मल्टीकास्ट फिल्म बनाउने तयारीमा छन् । यसका लागि उनले अभिनेता पुष्प खड्कासँग कागजी सम्झौता गरिसकेका छन् । 

अभिनेता द्वय निश्चल बस्नेत र सौगात मल्लसँग पनि मौखिक सहमति भइसकेको छ । फिल्मको टाइटल क्यारेक्टरको प्रस्ताव भने अनमोललाई गरिएको छ । त्यसको लागि ७५ लाख पारिश्रमिकमा अफर गरिएको हो । 
 
तर, केही दिनअघि एक अन्तरवार्तामा भने निर्देशक भट्टले अनमोललाई फिल्म अफर गरेको स्वीकार गरेका थिए । तर, पारिश्रमिकको विषयमा अहिलेसम्म कुराकानी नभएको उनको भनाई थियो । 

अनमोल नेपाली फिल्मका बिकाऊ अभिनेतामा पर्छन् । उनको नामले नै हलसम्म दर्शकको भीड तान्न सक्छ । डेब्यु फिल्म ‘होस्टेल’ बाटै दर्शकका क्रेज बनाएका उनले ८ वर्षको अवधिमा सातवटा फिल्ममा काम गरिसकेका छन् ।

नेपाली फिल्मका सबैभन्दा महङ्गा अभिनेता मानिने उनले फिल्म ‘कृ’ मा २० लाख पारिश्रमिक बुझेको खबरले ठूलै चर्चा चलेको थियो । यो फिल्मपछि उनलाई ५० लाखसम्मको अफर पुगेको थियो । अहिले उनलाई ७५ लाख पारिश्रमिकको प्रस्ताव  पुगेको हो । 
 

शुक्रबार, २० चैत्र २०७७, ०९ : ३१

प्रतिक्रिया