काठमाडौं- फिल्म ‘एमएस धोनी’ का निर्देशक नीरज पान्डेले नेपाली फिल्म निर्माण गर्ने भएका छन् । गएको हप्ता नीरजको प्रोडक्सन कम्पनी फ्राइडे फिल्मवर्कस र अनन्या फिल्म्सबीच सम्झौता भएको हो । ‘ट्वाइलेट एक प्रेमकथा, रुस्तम’ जस्ता फिल्मको निर्माण समेत गरिसकेका उनले निर्माता सरोज न्यौपानेको ब्यानर अनन्या फिल्म्ससँग सहकार्य गरेर नेपाली फिल्म बनाउन लागेका हुन् ।
उक्त फिल्मलाई हेमराज विसीले निर्देशन गर्नेछन् । हालसम्म फिल्मको नाम भने खुलाइएको छैन् । आउँदो भदौबाट छायांकन सुरु हुने फिल्मका लागि कलाकार छनोट हुन बाँकी रहेको निर्माता न्यौपानेले जानकारी दिए । आफूहरु स्टार कलाकार लिने सोचमा भए पनि निर्देशक पान्डेले अडिसनबाट कलाकार छनोट गर्न आग्रह गरेको उनले बताए । चाँडै देशभर फिल्मका लागि अडिसन गरिने उनको भनाई छ ।
फिल्मको कथा र स्क्रिनप्ले निरज पान्डेको रहनेछ । नेपाली भाषामा बनेपछि फिल्मको हिन्दी रिमेक समते बन्ने निर्माता न्यौपानेले बताए । हिन्दी रिमेकको निर्देशन पनि हेमराजले गर्नेछन् ।
नीरज पान्डेको उपस्थितिमा फिल्मको औपचारिक घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको छ । फिल्ममा सम्पूर्ण टिम नेपालकै हुनेछ ।
प्रतिक्रिया