काठमाडौं - मलेसियाले कामदारको तलब अनलाइन मार्फत दिनुपर्ने नयाँ व्यवस्था लागू गर्ने भएको छ ।
मलेसियाको मानव संशाधन मन्त्रालय रोजगारदाताले करार अनुसार कामदारहरुलाई तलब सुविधा दिए नदिएको एकिन गर्न ई–वेज सिष्टम लागू गर्ने अन्तिम तयारीमा रहेको हो ।
मन्त्रालयले लागू गर्ने ई–वेज सिष्टम स्थानीय तथा विदेशी दुबै प्रकारका कामदारहरुको हकमा समानरुपमा लागू गरिने बताइएको छ ।
मलेसियामा प्रत्येक महिनाको ७ तारेखसम्म कामदारहरुलाई रोजगारदाताहरुले तलब तथा अन्य सेवा सुविधा दिनुपर्ने कानूनी व्यवस्था भएपनि ढिलो भुक्तानी गर्ने गरेको गुनासो व्यापकरुपमा रहेको स्थानीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
मलेसियामा तोकिएको तलब सुविधा नपाएमा स्वदेशी तथा आप्रवासी कामदारले शुरुमा गृहमन्त्रालयमा उजुरी दिने र पछि त्यसलाई मानव संशाधन मन्त्रालयले संबोधन गर्ने गरिएको छ ।
ई–वेज सिष्टम लागू भएपछि गृहमन्त्रालयबाट सिकायत आउनु अघि नै कामदारको समस्या समाधान गरिने बताइएको छ ।
प्रतिक्रिया