काठमाडौं - वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी नमिलेमा पनि वैदेशिक रोजगारका लागि कामदार विदेश जान पाउने भएका छन् ।
यो नियम आगामी बैशाख १२ गतेसम्म लागू हुने भएको हो । अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक हाजिरी नगराइएको सार्वजनिक भएपछि विभागले गते चैत १८ गते एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीमा जाने कामदारले विदेश जानुपूर्व अभिमुखीकरण तालिम नलिई प्रमाणपत्र मात्र लिने वा नक्कली बायोमेट्रिक लिएको भए उनीहरूलाई वैशाख १ गतेदेखि विमानस्थलबाट फर्काउने बताएको थियो ।
तर नव वर्ष २०७८ को पूर्वसन्ध्यामा मंगलबार विज्ञप्ति जारी गर्दै विभागले विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) को स्तरोन्नति गर्ने कार्य जारी रहेको भन्दै बैशाख १२ सम्म हाजिरी नमिलेमा पनि विदेश जान पाउने जनाएको हो ।
विभागले नक्कली बायोमेट्रिक प्रयोग गर्दा बीमा तथा कल्याणकारी कोषबाट प्राप्त हुने सुविधाबाट वञ्चित हुनसक्ने, बायोमेट्रिक नमिल्दा विदेशबाट पुनः श्रम स्वीकृति प्राप्त गर्न नसक्ने तथा गन्तव्य मुलुकसम्बन्धी जानकारी, वैदेशिक रोजगारसम्बन्धी कानून तथा अन्य आवश्यक कानुन सम्बन्धी जानकारी, सुरक्षित रोजगारी तथा अन्य हकअधिकारका विषयबाट वञ्चित हुने भन्दै बायोमेट्रिकको क्रसचेक गर्ने बताएको छ ।
विभागले करोडौं खर्च गरेर प्रणाली प्रयोगमा ल्याएको भएपनि प्रणालीमा धेरै त्रुटीहरू रहेको र म्यानपावर कम्पनीका सञ्चालक, म्यानपावर कम्पनीको ठेगाना लगायतका धेरै विवरण अधुरो रहेको सेवाग्राहीको गुनासो रहेको छ ।
प्रतिक्रिया