एजेन्सी - बलिउड अभिनेता कार्तिक आर्यनलाई धर्मा प्रोडक्सनको निर्माणाधिन फिल्म ‘दोस्ताना २’बाट निकालिएको छ । यो सँगै धर्माले कार्तिकका लागि आफ्नो ढोका सदा बन्द भएको घोषणा पनि गरेको छ ।
कार्तिकको समूहले धर्मा प्रोडक्सनका लागि शरन शर्माले निर्देशन गर्ने फिल्ममा उनलाई फाइनल गरेको चर्चा चलाएको थियो । उनीहरुले फिल्मका लागि अभिनेत्रीमा तृप्ति डिमरी फाइनल भइसकेको बताएका थिए ।
आफ्नो फिल्मको बारेमा कुनै जानकारी नै नभई कलाकार फाइनल भएको समाचार सार्वजनिक भएपछि प्रोडक्सनका निर्माता करण जोहारले ट्वीटरमार्फत यी कुराको खण्डन गरेका थिए ।
अघिल्लो सातामा मात्र कार्तिकको फिल्म ‘धमाका’को विषयमा कार्तिकको समूहले एउटा अनौठो प्रचार गरेको थियो । कुल ३० करोडमा बनेको एक कोरियन फिल्मको आधिकारिक हिन्दी रिमेक नेटफ्लिक्सले १ सय ३५ करोडमा किनेको हल्ला फिजाइएको थियो ।
तर कार्तिकले धर्मा प्रोडक्सनको फिल्म ‘दोस्ताना २’का लागि आफ्नो ब्राण्ड भ्यालु बढाउन यो नाटक रचेको खुलेको थियो । कार्तिकका सारा कुरा नजिकबाट नियालेको धर्मा प्रोडक्सनले अन्तत ‘दोस्ताना २’बाट उनलाई निकाल्ने निर्णय लिएको छ ।
कम्पनीले उनलाई आगामी दिनमा आफ्नो ब्यानरका कुनै पनि फिल्ममा अभिनय नगराउने निर्णय लिएको छ ।
प्रतिक्रिया