काठमाडौं - भिजिट भिसामा मलेसिया गई स्वदेश नफर्किएका नेपालीहरुले देश छोड्नु पर्ने भएको छ । मलेसिया सरकारले २०२० को जनवरीबाट भिजिट भिसा आफ्नो देश आएका तर भिसा नवीकरण वा परिवर्तन नगरेकाहरुलाई २१ अप्रिल अथात् आगामी बुधबारसम्म देश छोड्न आदेश दिएको हो ।
यो सँगै भिजिट भिसामा गई रोजगारीमा लाग्न नसकेकाहरुले अप्रिल २१ भित्र आफ्नो मुलुक वा कुनै तेश्रो मुलुक गइसक्नुपर्ने भएको छ । २१ अप्रिलसम्म पनि मलेसिया नछोड्नेहरुले मलेसियाको कडा अध्यगमन नियमानुसार कारवाही भोग्नुपर्ने बताइएको छ ।
मलेसियाले भ्रमणमा जाने विदेशीलाई शुरुमा ९० दिनको भिसा जारी गर्ने गरेको छ । भिजिटभिसामा गएका विदेशीहरु स्वदेश नफर्किनेको संख्या बढेपछि मलेसियाले २१ अप्रिलसम्मको अवधि दिएको हो ।
उक्त अवधिभित्र स्वदेश फर्किने वा मलेसिया छोडेर अर्को देश जानेहरुले सामान्य जरिवाना तिरे पुग्ने बताइएको छ भने त्यसपछि पनि मलेसिया बस्नेहरुलाई धेरै जरिवाना तिराउन सक्ने मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले पासपोर्ट नभएको भएपनि दूतावासमा आई ३ सय ६० रिंगिट तिरेर ट्राभल डकुमेन्ट बनाउन सकिने बताएको छ । मलेसियामा सामान्यतयाः एकचोटी इलिगल बसेको विदेशी नागरिक पाँच वर्षसम्म फर्किन र मलेसिया जान नपाउने व्यवस्था छ ।
प्रतिक्रिया