जापानमा कामदार पठाउन व्यवसायीलाई सहभागी गराइने

२ बर्ष अगाडि

काठमाडौं - जापानको रोजगारीमा कामदार पठाउने विषयमा निजी क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुलाई सहभागी गराउने उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । 

जापानमा कामदार पठाउने एसएसडब्लु प्रणालीमा निजी क्षेत्रका वैदेशिक रोजगार व्यवसायीहरुलाई सहभागी नगराई सरकारले अन्य तेश्रो पक्षलाई सहभागी गराउने चर्चा चलिरहेको अवस्थामा जापान इम्प्लोइमेन्ट कोओर्डिनेशन काउन्सिलले गत हप्ता उपप्रधानमन्त्री पोखरेललाई भेटेर एसएसडब्लु प्रणालीमा व्यवसायीको आवद्धता सुनिश्चित गरियोस् भनी ज्ञापनपत्र बुझाएको थियो ।

व्यवसायीहरुको धारणा सुनेपछि उपप्रधानमन्त्री पोखरेलले व्यवसायीलाई एसएसडब्लुको प्रणालीमा सहभागी गराउनु पर्ने काउन्सिलको माग सकारात्मक रहेको बताउँदै व्यवसायीका जायज मागलाई कार्यान्वयनमा सरकारले गम्भीररुपमा लिने बताएका हुन् । 

उपप्रधानमन्त्री पोखरेलले एसएसडब्लु सम्बन्धी निर्देशिका निर्माण गर्दा निजी क्षेत्रका व्यवसायीहरुलाई सहभागी गराउने विषयलाई समेट्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई तत्काल पत्राचार गर्ने समेत विश्वास दिलाएका छन् । 

जापानले १४ प्रकारका क्षेत्रमा निर्दिष्ट सीपका विदेशी कामदारलाई रोजगारी दिँदै आएको छ । त्यसमा नर्सिङ स्याहार सुसार, भवन सरसफाई व्यवस्थापन, मेशिनका भागहरू र उपकरणसँग सम्बन्धित उद्योगहरू, औद्योगिक मेशिनरी उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्ससँग सम्बन्धित क्षेत्र, निर्माण उद्योग, पानी जहाज निर्माण, पानी जहाज मेशिनरी उद्योग, अटोमोबाइल मर्मत–सम्भार, उड्डयन उद्योग, होटेल, कृषि, माछा पालन र अक्वाकल्चर, खाना र पेय पदार्थको उत्पादन तथा खाद्य सेवा उद्योग रहेका छन् ।

 
 

२ बर्ष अगाडि

प्रतिक्रिया