काठमाडौं - चालु आर्थिक वर्षको ९ महिना सम्ममा विभिन्न श्रम गन्तव्यबाट ३ लाख ५५ हजार श्रमिक नेपाल फर्किएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजानिक गरेको चैतको पछिल्लो साप्ताहिक प्रगति प्रतिवेदन यस्तो देखाएको हो ।
विगत २ हप्तामा मात्र स्वदेश फर्कनेको संख्या २९ हजार छ । उक्त संख्यामध्ये बिदामा आउने भने न्यून रहेका छन् । कोरोनाका कारण उडान बन्द हुने भएका कारण हाल बिदामा आउने श्रमिक न्यून रहेको छ ।
साथै चालु आर्थिक वर्षको ९ महिनामा ९० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । गत वर्षको ९ महिनाको तुलनामा चालु आवको सोही अवधिसम्म वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा चार गुणाले घटेको पाइएको छ ।
केही समय कोभिड संक्रमण सुस्त भएपनि श्रम गन्तव्यका रोजगारदाताले विदेशी श्रमिकको माग नगर्ने र विभिन्न देशले लागू गरेको स्वास्थ्य मापदण्डका कारण चालु आवको ९ महिना पुग्दासमेत विदेश जानेको संख्या बढ्न नसकेको हो ।
गत वर्षको चैतसम्म वैदेशिक रोजगारीमा जाने नेपाली नेपाली युवाको संख्या ३ लाख ६८ हजार रहेकोमा चालु आवको सोही अवधिमा भने ९० हजार मात्र रहेको पाइएको छ । मलेसियालगायत खाडीका आधा दर्जन श्रम गन्तव्यका रोजगारदाताले नेपाली श्रमिकको माग बढाउन नसकेपछि वैदेशिक रोजगारी जानेको संख्या एक दशकको तुलनामा यो वर्ष सबै भन्दा कमी आएको छ ।
गत वर्षको चैतसम्म पुनः श्रम स्वीकृति लिनेको युवाको संख्या १ लाख ७७ हजार ९८० रहेकोमा यो वर्ष सो संख्या ३ गुणा घटेर ५४ हजारमा सीमित रहेको छ । यसैगरी नयाँ श्रम स्वीकृति लिई गत वर्षको चैतसम्म १ लाख ९० हजार ९ सय ८० रहेकोमा यो वर्षको चैतसम्म ३५ हजार ३ सय २५ युवा मात्र रोजगारीका लागि विदेश गएका छन् ।
प्रतिक्रिया