वैदेशिक रोजगारका लागि विभिन्न देश जादैँ गरेका १२२ जना नेपाली कामदारलाई विमानबाट ओरालियो

विहीबार, ०९ बैशाख २०७८, ०८ : ५२

काठमाडौं - कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण रिपोर्टलाई मान्यता नदिइँदा १२२ जना यात्री बुधबार विमानबाटै ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले जारी गरेका पोलिमर्स चेन रियाक्सन ९पीसीआर० रिपोर्ट नक्कली भएको आशङ्कमा उनीहरूलाई यात्रा अनुमति नदिइएको हो ।       

सिनामङ्गस्थित सुरिया हेल्थ केयर र मेरिट मल्टिकेयर सेन्टरले स्वाब परीक्षण नै नगरी प्रतिव्यक्ति नौ हजारमा नक्कली रिपोर्ट जारी गरेको अभियोगमा मङ्गलबार दुवै संस्थाका आठजना कर्मचारी पक्राउ परेपछि सम्बन्धित विमान कम्पनी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा अधिकारीले उनीहरूलाई विमानबाट झारेका हुन् । 

एयर अरेबियाको उडानबाट सारजाह जान लागेका ५४ जना, सलाम एयरमा चढेर ओमान प्रस्थान गर्न लागेका ३२ र जजिरा एयरको उडानमा कुवेत गन्तव्य बनाएका ३६ जनालाई विमानबाट उतारिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  

बुधबार यात्रा गर्न नपाएका ती कामदारलाई सम्बन्धित विमान कम्पनीले यात्राको पुनः व्यवस्था गर्ने नगर्ने बारेमा उनीहरूबाट कुनै निर्णय नभएको बताइएको छ । बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थप ५० जनालाई फर्काइएको विमानस्थलले जनाएको छ । 

विमानबाट उतारिएका र विमानस्थलबाट प्रस्थान गर्न नपाएकामध्ये ६८ भारतीय नागरिक छन् । 

विहीबार, ०९ बैशाख २०७८, ०८ : ५२

प्रतिक्रिया