उच्च अदालतको आदेश अवज्ञा गर्दै प्रहरीले पक्राउ गर्‍यो उज्यालो नेटवर्कका दुई पत्रकार

३ बर्ष अगाडि

काठमाडौं - समाचार प्रकाशन गरेकै कारण उज्यालो नेटवर्क अनलाइनका पत्रकार अनिश तामाङ र महा–प्रबन्धक दुर्गालाल तामाङ ‘प्रभात’लाई प्रहरीले पक्राउ गरेको छ ।  

महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले दुर्गालाललाई बसुन्धाराबाट पक्राउ गरेको हो । भने अनिशलाई अनामनगरस्थित उज्यालो नेटवर्कबाट नियन्त्रणमा लिइएको हो । उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

केही दिन पहिले सो अनलाइनले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्त गोयलबीचको सम्झौता भन्दै एक सामग्री प्रकाशन भएको थियो । पछि सोही अनलाइनले गल्ती स्वीकार गर्दै प्रेस काउन्सिलमा माफी समेत मागेको थियो ।

समाचार प्रकाशनपछि प्रहरीले नेटवर्कका सम्पादक बुद्ध लोप्चन सहितका पत्रकारलाई धरपकड शुरु गरेको थियो । जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले  बताए । 

उनीहरूलाई राज्य विरुद्धको कसुर र लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ ।  अनिश तामाङ सहितका पत्रकारलाई धरपकड नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको थियो । तर, प्रहरीले सो आदेशको अवज्ञा गरेको छ । 

सिभिल ड्रेसमा खटिएका प्रहरीले धरपकड गर्ने भएकोले अहिले कार्यालय बन्द गरेर सबै पत्रकार बाहिरिएको त्यहाँ कार्यरत पत्रकार विवेक लोप्चनले बताए । सम्पादक बुद्ध लोप्चन सँग सम्पर्क गर्न खोज्दा उनी सँग सम्पर्क हुन सकेन ।  

३ बर्ष अगाडि

प्रतिक्रिया