सूचना विभागको पास अनिवार्यले पत्रकारलाई सास्ती

२ बर्ष अगाडि

काठमाडौं - प्रेस पासका लागि व्यवस्था नहुँदा महामारीको समयमा सूचना सङ्कलनमा खटिने पत्रकारले दुख पाउन थालेका छन् । 

गत वैशाख १६ गते देखि काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने र अत्यावश्यक सेवा सुविधा खुला रहने निर्णय गरेको थियो । 

यसकै आधारमा निषेधाज्ञाका समयमा समाचार संकलनार्थ खटिएका पत्रकारले सम्बन्धित मिडिया हाउसकै पासका आधारमा हिंँड्न पाउने व्यवस्था भएको थियो । तर, त्यसको २ दिनपछि शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सूचना विभागको प्रेस पासले मात्रै पत्रकारलाई हिँड्न दिने निर्णय गरेको हो ।

बाटोमा खटिएका सुरक्षाकर्मी यो दुईवटै निर्णयमध्ये को लाई मान्य र को लाई नमान्ने दुबिधामा छन् । उनीहरूले कसैलाई हिड्न दिएका छन् भने कसैलाई सडकमा उभिन लगाएका छन् । स्पस्ट निर्णय नभएकै कारण सुरक्षाकर्मीको कारवाहीमा पत्रकार पर्ने गरेका छन् ।

अहिले पनि उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले पत्रकारलाई सम्बन्धित मिडिया हाउसकै परिचयपत्र मान्य गरिएको र थप व्यवस्था हुने बताउने गरेका छन् । 

यो निर्णयप्रति विभिन्न सञ्चारसम्बद्ध सङ्घसंस्थाहरूले विरोध जनाएका छन् । उनीहरूले तत्काल यो निर्णयमाथि पुनर्विचार गरेर सहज वातावरण बनाउन माग गरेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया