उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते

६ बर्ष अगाडि

काठमाडौ– निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन आगामी चैत्र ९ गते हुने गरी निर्वाचनको मिति तय गरेको छ ।  बुधबार बसेको निर्वाचन आयोगको बैठकले उपराष्ट्रपतिका लागि मिति तय गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवको अध्यक्षता बुधबार बसेको आयोगको बैठकले उक्त  निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचनको मिति तोक्ने व्यवस्था छ ।  यसैगरी नेपालको संविधानको धारा ७० एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ५ बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने व्यवस्था छ । 

फागुन २९ गते सम्पन्न राष्ट्रपति निर्वाचनबाट नेपालको राष्ट्रपतिमा खस आर्य समुदायका महिला श्रीमती विद्यादेवी भण्डारी निर्वाचित भएकाले उपराष्ट्रपति पदका लागि उल्लिखित लिङ्ग वा समुदाय भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिको मनोनयन पत्र मात्र दर्ता गर्न, गराउन पाइने आयोगले जनाएको छ । 

आयोगले प्रकाशित गरेको निर्वाचन कार्यक्रम अनुसार चैत्र १ गते मतदाता नामावली प्रकाशन, चैत्र ३ गते उम्मेदवारी दर्ता तथा चैत्र ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । 
चैत्र ९ गते शुक्रबार विहान १० वजे देखि अपरान्ह ३ वजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ । 

६ बर्ष अगाडि

प्रतिक्रिया