काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकको ७५ करोड बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले ७५ करोड रुपैयाँ ऋणपूँजी रकम बराबरको 'सांग्रिला डेभलपमेन्ट बैंक डिवेञ्चर २०८७' को निष्काशन गरेको थियो ।
बैंकले असार ६ गतेदेखि प्रतिइकाई १००० रुपैयाँ दरमा ७ लाख ५० हजार इकाई ऋणपत्र जारी गरेको थियो । छोटो अजवधिमा आवश्यक आवेदन नपरेपछि बैंकले लामो अवधिसम्म आवेदन खुला गरेको थियो ।
कुल निश्कासन हुने डिवेञ्चरमध्ये ४ लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निश्कासनको माध्मयबाट बिक्री खुला गरिएको छ ।
सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका इकाईमध्ये ५ प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषहरुलाई बाँडफाँड भइसकेको छ । दश वर्षे अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याजदर पाउनेछन् ।
बैंकको ऋणपत्रका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने श्री नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभूत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।
प्रतिक्रिया