आज ३ कम्पनीको साधारण सभा हुँदै, यस्तो छ एजेण्डा !

सोमबार, २१ असार २०७८, ०९ : १६

काठमाडौं  - आज विभिन्न ३ कम्पनीको साधारण सभा हुँदैछ ।  इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा हुन लागेको हो ।

जसमध्ये, एक कम्पनीको विशेष साधारण सभा र २ वटा कम्पनीको वार्षिक साधारण सभा हुन लागेको हो । 

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा आज हुँदैछ । उक्त सभा संस्थाको केन्द्रिय कार्यालय, गैँडाकोट, नवलपुरबाट बिहान ९ बजेदेखि भर्चुअल माध्यमार्फत् सुरू हुनेछ ।

सभामा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । सभामा नेपाल एग्रोको १०० कित्तालाई इन्फीनिटी लघुवित्तले ९८ कित्ता सेयर दिने र नेपाल एग्रोलाई प्राप्ति गर्न स्वीकृति प्रदान गरिनेछ ।

विशेष साधारण सभा प्रयोजनको लागि संस्थाले असार ८ गते बुकक्लोज गरेको थियो । त्यसैले, असार ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्रै साधारण सभामा सहभागी हुन पाउनेछन् ।

जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड 
जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि तेश्रो वार्षिक साधारण सभा आज कम्पनीको केन्द्रिय कार्यालय, हात्तीसार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित गरिनेछ । 

साथै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व हुने गरी एक महिलासहित दुई सञ्चालकको निर्वाचन समेत सभाले अनुमोदन गर्नेछ। कम्पनीले कोभिड-१९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने विशेष प्रस्ताव रहेको छ ।  

त्यसैगरी, साधारण सभा प्रयोजनका लागि वैशाख १० गते बन्द गरिएको थियो । त्यसैले उक्त मितिसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड 
नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा पनि आज सिटिस्क्वेयर, न्यूरोड, पोखरा, कास्कीमा ९ बजेदेखि सुरू हुनेछ । 

सभामा हाल कायम चुक्ता पुँजी ५ करोड ७२ लाख ४४ हजार ४ सय ७० रुपैयाँको १४ प्रतिशतले हुन आउने ८० लाख १४ हजार २ सय २६ रुपैयाँ बराबरको बोनस सेयर र  कर प्रयोजनको लागि ४ लाख २१ हजार ८ सय १ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ  ।

त्यसैगरी, सभामा हालसम्म भएका सम्झौता र कार्यहरु अनुमोदन गर्ने र कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने छ । नियामक निकाय थप संशोधन गर्न निर्देशन दिए सोही अनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गरिनेछ ।

सोमबार, २१ असार २०७८, ०९ : १६

प्रतिक्रिया