काठमाडौं - हुम्लाका बैङ्कमा पैसाको अभाव भएको छ । आर्थिक वर्षको अन्त्यति र धेरै विकासे गतिविधिहरूको भुक्तानी दिनुपर्ने भएपछि बैङ्कमा मौज्दात भएको पैसा सकिएपछि अभाव भएको हो ।
दैनिक धेरै र ठूला योजनाको भुक्तानी दिनुपरेपछि पैसाको अभाव हुन थालेको बताउँदै राष्ट्रिय वाणिज्य बैङ्कका प्रबन्धक सविता शाहीले असारमा मात्र योजना सम्पन्न गर्ने र भुक्तानी दिने प्रचलनले समस्या हुनेगरेको बताइन् । दैनिक चारदेखि छ करोड रुपियाँ बैङ्ले भुक्तानी दिने गरेको छ ।
पैसा सकिन थालेपछि बैङ्कबाट झिक्न मिल्ने सीमा तोक्नुपरेको बैङ्कले जनाएको छ । उनले बैङ्कमा पैसा नभएकै कारण खर्पुनाथ गाउँपालिकाको प्रभु बैङ्कलाई एक दिनअगाडि चार करोड मागेकामा एक करोड मात्र दिएको बताउँदै जिल्लाभित्रका अन्य आठवटा बैङ्कलाई अब पैसा दिन नसकिने बताइन् ।
पैसा मौज्दात कम भएपछि आवश्यक पैसाको व्यवस्थाका लागि राष्ट्र बैङ्कलाई अनुरोध गरिएको छ । सदरमुकाम सिमकोटमा सिटिजन्स, साङ्ग्रिला, कृषि विकास बैङ्क छन् भने नाम्खा र सर्केगार्ड गाउँपालिकामा सिटिजन्स बैङ्क, खर्पुनाथमा प्रभु, चँखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा ग्लोबल आईएमई बैङ्कले कारोबार गर्दै आएका छन् ।
यी बैङ्कमा पैसाको अभाव जनाइएको छ ।
प्रतिक्रिया