बैंकिङ कर्जा

बैंकको कर्जा ६० खर्ब पार, कुन क्षेत्रमा कति कर्जा प्रवाह ?

बुधबार, ११ कार्तिक २०८३, १० : ५७

काठमाडौं- चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ६० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा ६० खर्ब १७ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

गत असार मसान्तको तुलनामा बैंकहरूको कर्जा लगानी ६२ अर्ब ८४ करोड ९९ लाख रुपैयाँ अर्थात् १.१ प्रतिशतले बढेको हो । चाडपर्वका कारण उपभोग्य वस्तुको माग, किनमेल तथा व्यापारिक गतिविधि बढेसँगै कर्जा प्रवाहमा विस्तार देखिएको छ । यद्यपि, सबै क्षेत्रमा कर्जा बढेको छैन । थोक तथा खुद्रा व्यापार, उपभोग, उत्पादन, विद्युत् र निर्माण क्षेत्रमा कर्जा बढ्दा कृषि तथा लघुवित्त क्षेत्रमा भने गिरावट आएको छ ।

गत आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ३५ अर्ब ४८ करोड ९९ लाख रुपैयाँ अर्थात् ०.६ प्रतिशतले मात्रै बढेको थियो । यस वर्ष सोही अवधिमा कर्जा विस्तारको गति तुलनात्मक रूपमा उच्च देखिएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा उपभोग्य क्षेत्रमा गएको छ । भदौ मसान्तसम्म यस क्षेत्रमा १३ खर्ब ६० अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यो कुल कर्जाको २२.६१ प्रतिशत हो ।

उपभोग्य कर्जामा सुनचाँदी र क्रेडिट कार्डको वृद्धि

व्यक्तिगत तथा घरायसी आवश्यकताका लागि प्रवाह हुने उपभोग्य कर्जा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा तीन अर्ब २४ करोड ६५ लाख रुपैयाँले बढेको छ । यो ०.२ प्रतिशतको वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा १२ अर्ब १५ करोड ७१ लाख रुपैयाँ अर्थात् १.१ प्रतिशतले बढेको थियो ।

उपभोग्य कर्जाअन्तर्गत सुनचाँदी धितो राखेर लिइने कर्जामा सबैभन्दा बढी प्रतिशत वृद्धि भएको छ । भदौ मसान्तसम्म सुनचाँदी धितो कर्जा एक खर्ब ३२ अर्ब ३४ करोड ८७ लाख रुपैयाँ पुगेको छ । असार मसान्तको तुलनामा यसमा चार अर्ब ४२ करोड ६३ लाख रुपैयाँ अर्थात् ३.५ प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, क्रेडिट कार्डमार्फत लिइने कर्जा दुई महिनामा ५३ करोड ४४ लाख रुपैयाँ अर्थात् ६.६ प्रतिशतले बढेर आठ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यसको विपरीत मुद्दती रसिद धितो राखेर प्रवाह गरिने कर्जा घटेको छ । भदौ मसान्तसम्म यस्तो कर्जा १८ अर्ब २० करोड ९७ लाख रुपैयाँमा सीमित भएको छ ।

ग्यारेन्टी बन्ड धितो कर्जा भने एक अर्ब ११ करोड १८ लाख रुपैयाँ अर्थात् ०.८ प्रतिशतले बढेर एक खर्ब ३७ अर्ब ६१ करोड ३७ लाख रुपैयाँ पुगेको छ ।

व्यक्तिगत सवारीसाधन खरिद, शिक्षा, आवासीय घर तथा अन्य व्यक्तिगत आवश्यकताका लागि प्रवाह हुने कर्जा पनि बढेको छ । भदौ मसान्तसम्म यस शीर्षकमा १० खर्ब ६३ अर्ब ८४ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

व्यापार क्षेत्रमा २५ अर्बभन्दा बढी कर्जा विस्तार

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा दोस्रो ठूलो हिस्सा थोक तथा खुद्रा व्यापार क्षेत्रको रहेको छ । भदौ मसान्तसम्म यस क्षेत्रमा १० खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । असार मसान्तको तुलनामा दुई महिनामा व्यापार क्षेत्रको कर्जा २५ अर्ब २४ करोड रुपैयाँ अर्थात् २.५ प्रतिशतले बढेको हो ।

व्यापार क्षेत्रभित्र अटोमोबाइल डिलर तथा फ्रेन्चाइज व्यवसायमा प्रवाहित कर्जामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार यस शीर्षकमा ११ अर्ब ५५ करोड ४० लाख रुपैयाँ अर्थात् १२ प्रतिशतले कर्जा बढेको छ ।

त्यस्तै, आयात व्यापारका लागि प्रवाह हुने कर्जा १० अर्ब तीन करोड ३३ लाख रुपैयाँ अर्थात् ६.८ प्रतिशतले विस्तार भएको छ । चाडपर्वका बेला वस्तुको माग र व्यापारिक गतिविधि बढ्दा व्यवसाय सञ्चालनका लागि आवश्यक पुँजीको मागसमेत बढेको देखिन्छ ।

कृषि क्षेत्रमा दुई महिनामै नौ अर्बभन्दा बढी कर्जा घट्यो

समग्र कर्जा प्रवाह बढिरहेका बेला उत्पादनशील क्षेत्रका रूपमा महत्त्वपूर्ण मानिने कृषि क्षेत्रमा भने गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै कृषि क्षेत्रमा प्रवाहित कर्जा नौ अर्ब २१ करोड २६ लाख रुपैयाँ अर्थात् २.२ प्रतिशतले घटेको छ ।

भदौ मसान्तसम्म कृषि क्षेत्रमा कुल चार खर्ब एक अर्ब २२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । कृषि क्षेत्रभित्र बालीनाली तथा कृषि सेवाका लागि प्रवाह गरिएको कर्जा पनि तीन अर्ब १३ करोड ४२ लाख रुपैयाँ अर्थात् ३.९ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ ।

उत्पादन क्षेत्रमा १८ अर्बभन्दा बढी थपियो

कृषिमा कर्जा घट्दा उत्पादन क्षेत्रमा भने लगानी विस्तार भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा उत्पादन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १८ अर्ब सात करोड ६६ लाख रुपैयाँले बढेको छ । यससँगै भदौ मसान्तसम्म उत्पादन क्षेत्रमा प्रवाहित कुल कर्जा नौ खर्ब ४८ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

उत्पादन क्षेत्रभित्र खाद्यान्न उत्पादनका लागि प्रवाह भएको कर्जा आठ अर्ब ९७ करोड १० लाख रुपैयाँ अर्थात् ४.५ प्रतिशतले बढेको छ । उत्पादन क्षेत्रमा कर्जा विस्तार हुनुले उद्योग तथा वस्तु उत्पादनसम्बन्धी गतिविधिमा बैंकिङ स्रोतको परिचालन बढेको देखाउँछ । यद्यपि, कर्जा विस्तारले मात्रै वास्तविक उत्पादन वृद्धिको अवस्था पुष्टि गर्दैन ।

विद्युत् र निर्माण क्षेत्रमा पनि बढ्यो कर्जा

विद्युत् क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी दुई महिनामा नौ अर्ब ४२ करोड २५ लाख रुपैयाँ अर्थात् १.९ प्रतिशतले बढेको छ । यससँगै भदौ मसान्तसम्म विद्युत् क्षेत्रमा प्रवाहित कर्जा पाँच खर्ब १४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।

निर्माण क्षेत्रमा पनि कर्जा प्रवाह बढेको छ । यस क्षेत्रमा दुई महिनामा १० अर्ब २१ करोड ३० लाख रुपैयाँ अर्थात् ३.७ प्रतिशतले कर्जा थपिएको छ । भदौ मसान्तसम्म निर्माण क्षेत्रमा कुल दुई खर्ब ८४ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

निर्माण क्षेत्रभित्र आवासीय भवन निर्माणसम्बन्धी कर्जा ६.१ प्रतिशतले बढेको छ भने राजमार्ग तथा पुलजस्ता ठूला पूर्वाधार निर्माणमा प्रवाह भएको कर्जा २.६ प्रतिशतले विस्तार भएको छ ।

सेवा क्षेत्रमा साढे १३ अर्ब कर्जा थपियो

सेवा क्षेत्रमा पनि चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कर्जा लगानी बढेको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा सेवा क्षेत्रमा १३ अर्ब ६४ करोड आठ लाख रुपैयाँ अर्थात् २.७ प्रतिशतले कर्जा विस्तार भएको छ ।

भदौ मसान्तसम्म सेवा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाबाट कुल पाँच खर्ब २३ अर्ब ४६ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ । यस क्षेत्रअन्तर्गत होटल व्यवसायमा मात्रै दुई खर्ब ३४ अर्ब पाँच करोड रुपैयाँ कर्जा पुगेको छ ।

लघुवित्तको कर्जा १३.२ प्रतिशतले घट्यो

सेवा क्षेत्रलगायत विभिन्न क्षेत्रमा कर्जा विस्तार भइरहँदा लघुवित्त क्षेत्रमा भने उल्लेख्य गिरावट आएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा लघुवित्त क्षेत्रमा प्रवाहित कर्जा २७ अर्ब ७३ करोड तीन लाख रुपैयाँ अर्थात् १३.२ प्रतिशतले घटेको छ ।

यससँगै भदौ मसान्तसम्म लघुवित्त क्षेत्रमा प्रवाहित कुल कर्जा एक खर्ब ८२ अर्ब ६९ करोड रुपैयाँमा झरेको छ ।

अर्कोतर्फ, घरजग्गा क्षेत्रमा कर्जा लगानी सामान्य रूपमा बढेको छ । दुई महिनामा यस क्षेत्रमा दुई अर्ब ७९ करोड १९ लाख रुपैयाँ अर्थात् १.५ प्रतिशतले कर्जा वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म घरजग्गा क्षेत्रमा कुल एक खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

समग्रमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी विस्तार भए पनि यसको वृद्धि सबै क्षेत्रमा समान देखिएको छैन । व्यापार, उपभोग, उत्पादन, विद्युत् र निर्माण क्षेत्रमा कर्जा बढ्दा कृषि तथा लघुवित्त क्षेत्रमा आएको गिरावटले कर्जा प्रवाहको क्षेत्रगत प्रवृत्तिमा भिन्नता देखाएको छ ।

बुधबार, ११ कार्तिक २०८३, १० : ५७

प्रतिक्रिया