घट्यो उद्योग दर्ता, एक वर्षमा डेढ खर्ब स्वदेशी लगानीमा उद्योग दर्ता

आइतबार, १० साउन २०७८, १२ : ५९

काठमाडौं - नेपालमा एक वर्षका अवधिमा डेढ खर्ब स्वदेशी लगानीका उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७र७८ मा एक खर्ब ५६ अर्ब ६४ लाखको लगानीमा विभिन्न ६ शीर्षकका २०३ उद्योग दर्ता भएका उद्योग विभागको तथ्याङ्कमा उल्लेख छ ।

कृषि तथा वन पैदावारमा आधारित २१ उद्योगमा पाँच अर्ब ३४ करोड ८० लाख, ३० ऊर्जामूलक उद्योगमा एक खर्ब ९ अर्ब ९७ करोड ४० लाख र सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित छ उद्योगमा रु ८० करोड लगानी रहेको छ ।

यस्तै, पूर्वाधारका दुई उद्योगमा एक अर्ब ७३ करोड ८० लाख, उत्पादनमूलक ७० उद्योगमा  १९ अर्ब ५२ करोड ४० लाख, खनिज क्षेत्रको एक उद्योगमा १२ करोड ३० लाख, सेवामूलक ३३ उद्योगमा ५ अर्ब ६४ करोड ५ लाख र पर्यटनसँग सम्बन्धित ४० उद्योगमा रु १३ अर्ब ४८ करोड ५ लाख लगानी छ ।

कोरोना महामारीका कारण अघिल्लो वर्षको तुलनामा गत वर्ष उद्योगको सङ्ख्यामा कमी आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी रकममा केही वृद्धि भए पनि उद्योग दर्ताको सङ्ख्यामा भने कमी आएको विभागले जनाएको छ । 

विभागका अनुसार अघिल्लो आवमा एक खर्ब ५२ अर्ब ६२ करोड भन्दा  बढीको लगानीमा २७७ वटा स्वदेशी उद्योग दर्ता भएका थिए । अघिल्लो वर्षको तुलनामा गत आवमा ७४ ले उद्योग दर्तामा कमी आएको हो ।

आइतबार, १० साउन २०७८, १२ : ५९

प्रतिक्रिया