काठमाडौं - कतारले मान्यता प्राप्त खोपको मात्रा पूरा गरेको भए कतार प्रवेश गर्ने विदेशीले क्वारेन्टाइन बस्नु नपर्ने भएको छ । कतारमा सङ्क्रमितहरूको संख्या घट्न थालेपछि क्वारेन्टाइनमा केही खुकुलो पारिएको हो ।
कतारस्थित नेपाली दूतावासले कतार सरकारको नयाँ नियम उल्लेख गर्दै खोप लगाएको कम्तीमा १४ दिनपछि प्रवेश गरेमा क्वारेन्टाइन बस्नु नपर्ने बताएको छ । कतारले फाइजर, बायोन्टेक, मोर्डेना, अष्ट्राजेनिका (कोभिशिल्ड-अक्सफोर्ड) र जोन्सन एण्ड जोन्सनको खोपलाई मात्र कतारमा मान्यता दिइएको छ ।
दूतावासका अनुसार मान्यता प्राप्त खोप लगाएका व्यक्तिको साथमा खोप लगाएको प्रमाणपत्र अनिवार्यरूपमा साथमा राख्नु पर्नेछ । प्रमाणपत्रमा खोप लगाइएको मिति, खोपको नाम÷प्रकार, उपलब्ध भएमा खोपको लट नम्बर र खोप लगाउने कार्यालयको छाप हुनुपर्ने छ । सिनोफर्म खोप लगाएका व्यक्तिको भने शरीरमा कोरोना प्रतिरोधी एण्टिबडी भए/नभएको परीक्षण गरिने बताइएको छ ।
कतार प्रवेश गर्नु ७२ घण्टाअघि गरिएको कोरोना भाइरसको पीसीआर परीक्षणको नेगेटिभ रिर्पोट हुनुपर्ने यसअघिको अनिवार्य नियम भने यथावत रहेको छ । कोभिड संक्रमण भई निको भएको १२ महिनाभित्र कतार पुनः प्रवेश गर्ने यात्रुले क्वारेन्टाइन बस्नु नपर्ने नयाँ व्यवस्थामा उल्लेख छ ।
त्यस्तै कतार प्रवेश गर्नुभन्दा कम्तिमा १२ घण्टा अगाडि अनलाइनमार्फत प्रि–रजिस्ट्रेशन गरी तोकिएका कागजात अपलोड गरेपछि प्राप्त हुने ट्राभल परमिटसमेत साथमा बोक्नुपर्ने दूतावासले जनाएको छ ।
प्रतिक्रिया