इजरायलको भाषा परीक्षामा ६ हजार बढीले दिए जाँच, कहिलेसम्म आउँछ नतिजा ?

२ बर्ष अगाडि

काठमाडौं - इजरायलका दीर्घकालीन स्याहार केन्द्रको रोजगारीका लागि वैदेशिक रोजगार विभागले सञ्चालन गरेकोे अंग्रेजी भाषा परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएका छन् । काठमाडौंमा तोकिएका सबै  १६ परीक्षा केन्द्रमा परीक्षा शान्तिपूर्ण र मर्यादितरुपमा सम्पन्न भएको विभागले जनाएको छ । विभागले सोमबार ८० अंकको परीक्षा सञ्चालन गरेको हो ।

विभागले  एक हप्ता भित्रै परीक्षाको नतिजा प्रकाशन गरेर अर्को हप्ता २० अंकभारको अन्तर्वार्ता गरी सकेसम्म छिटो नतिजा सार्वजनिक गर्ने बताएको छ । सम्झौता अनुसार नेपालले शुरूमा एक हजार जना दीर्घकालीन स्याहार केन्द्रमा पठाउने छ ।  इजरायलले एक हजारमध्ये ७० प्रतिशत अर्थात ७ सय महिला र ३० प्रतिशत अर्थात ३०० पुरुष लैजाने बताएको छ ।

इजरायलका लागि यसपटक ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुष गरी ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए । जसमध्ये ७ हजार ९ जनाको फारम स्वीकृत भएको विभागको भनाइ छ ।

इजरायल रोजगारमा छानिएका कामदारहरुले ५ वर्षसम्म काम गर्न पाउनेछन् । इजरायल जाने कामदारको न्यूनतम तलब १६ सय डलर झन्डै १ लाख ९० हजार नेपाली रुपैयाँ हुनेछ । लागत शुल्क भने १ लाख ६५ हजार रुपैयाँ तोकिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया