५ बर्षमा  फोरजी प्रयोगकर्ता संख्या १ करोड ३७ लाख, टेलिकमको मात्र साढे ७४ लाख बढी

बुधबार, १४ पुस २०७८, ११ : ४१

काठमाडौं, नेपालमा चौथो पुस्ताको फोरजी सुरु भएको ५ बर्षमा एक करोड ३७ लाख प्रयोगकर्ता पुगेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको एमआईएस रिपोर्ट अनुसार टेलिकमका एक्लैले फोरजी प्रयोगकर्ता ७४ लाख ८५ हजार ४ सय रहेका छन् । गत बर्ष सोही समयमा नेपाल टेलिकमका फोरजी ग्राहक २० लाख थिए । नेपाल टेलिकमले एक बर्षको अवधिमा फोरजी प्रयोगकर्ताको संख्या ५४ लाख ३५ हजारले बढाएको छ ।

त्यस्तै अर्को प्रतिस्पर्धी एनसेलले भने ६१ लाख ४५ हजार मात्रै प्रयोगकर्ता बनाउन सकेको छ । एनसेलको एक बर्षमा २० लाख प्रयोगकर्ता बढाएर सो संख्यामा सेवाग्राही पुर्याएको हो । एनसेलको गत बर्ष ४० लाख ४२ हजार प्रयोगकर्ता थिए ।

त्यसैगरी नेपालको तेस्रो मोबाइल सेवाप्रदायक स्मार्टसेलका ग्राहक भने १ लाख ५३ हजार ७ सय ४५ जना पुगेका छन् ।

हाल नेपालमा मोबाइल प्रयोगकर्ताको सबै भन्दा बढी हिस्सा नेपाल टेलिकमले ओगटेको छ । नेपाल टेलिकमको मोबाइल हिस्सा ५४.२९ प्रतिशत रहेको छ भने एनसेलको ४४ प्रतिशत हिस्सा छ ।

गत कात्तिकसम्म नेपालमा फोरजी प्रयोगकर्ताको संख्या कुल १ करोड ३७ लाख ८७ हजार जना पुगेको छ । हालसम्म नेपालमा तेस्रो पुस्ताको थ्रिजी प्रयोगकर्ता एक करोड २४ लाख रहेको छ ।

बुधबार, १४ पुस २०७८, ११ : ४१

प्रतिक्रिया