काठमाडौं – नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को अन्तिम प्रतिवदेनको मस्यौदा प्राप्त गरेको छ। द्रुतमार्गको डिपिआर दक्षिण कोरियाको सोसुंग इन्जिनियरिङ कन्सल्टेन्सीले तयार पारेको हो। सेनाले डिपिआर अध्ययन गरेपछि अन्तिम रुप दिइने बताइएको छ।
सेनाका अधिकारीहरूले कोरियन कम्पनीले उपलब्ध गराएको डिपिआर अध्ययनमा दुई साता जति लाग्ने जनाएका छन्। कोरियन कम्पनीले १० करोड १५ लाख रुपैयाँको लागतमा दु्रतमार्गको डिपिआर तयार पारेको हो। यसअघि द्रुतमार्गको डिपिआर तयार पारेको भारतीय कम्पनी आइएल एन्ड एफएसले डिपिआरको मूल्य ६१ करोड रुपैयाँ तोकेको थियो। अत्यधिक महँगो मूल्य तोकिएका कारण सेनाले पुरानो डिपिआर खरिद गर्नुको साटो नयाँ बनाउने निर्णय गरेको थियो।
चार महिनाअघि नयाँ डिपिआर तयारीको जिम्मा कोरियन कम्पनीलाई दिइएको थियो। हाल सेनासँग द्रुतमार्गको डिपिआर छैन। डिपिआरबिना एसियाली विकास बैंकको प्रोजेक्ट रिपोर्टको आधारमा सेनाले दु्रतमार्गमा निर्माण कार्य सुरु गरिसकेको छ। सैनिक अधिकारीहरूका अनुसार कोरियन कम्पनीले तयार पारेको डिपिआरमा सुरुङ मार्गको दुरी केही बढ्नेबाहेक अन्य रेखांकनमा खासै परिवर्तन छैन। पुरानो रेखांकन अनुसार नयाँ डिपिआरमा खासै परिवर्तन नहुने भएपछि निर्माण कार्य सुरु गरिएको सैनिक अधिकारीहरूको भनाइ छ। नागिरक दैनिकमा खबर छापिएकाे छ ।
प्रतिक्रिया